राजावादी प्रदर्शनका क्रममा आपराधिक संलग्नता आरोपमा रास्वपाका नेता पक्राउ

  •   १ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

काठमाण्डौ । काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व संयोजक डा. राजकुमार राई रहेका छन्। उनी केही राजावादी नेताहरूसँगै पक्राउ परेको प्रहरीले जनाएको छ। सिसी टिभी फुटेजको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

राईमाथि भाटभटेनी क्षेत्रमा लुटपाटमा संलग्न भएको र मदिरा चोरी गरेको आरोप समेत लगाइएको छ। अमेरिकाबाट पीएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशक रहेको बताइएको छ।

रावाबेसी गाउँपालिका-१ निवासी राई गएको पुस १३ गते भएको जिल्ला अधिवेशनमा खोटाङ जिल्ला अध्यक्ष पदमा पराजित भएका थिए। मुकुन्दकृष्ण थापा विजयी हुँदा उनले मात्र ६ मत प्राप्त गरेका थिए। अध्यक्ष पदमा असफल भएपछि उनी पार्टी गतिविधिमा निष्क्रिय बनेको बताइन्छ।

काठमाडौं जिल्ला अदालतबाट पहिलोपटक ५ दिन र दोस्रोपटक ६ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप