रातभर धेरै प्रदेशमा मध्यमदेखि भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

  •   १ वर्ष अघि | २६ साउन २०८२, सोमवार

साउन २६, सोमबार । मौसम पूर्वानुमान महाशाखाले आज रातभर देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गर्दै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार सोमबार बेलुकीसम्मै देशभर मौसम पूर्णतया बदली छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा तथा कोसी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा अहिले पनि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको अनुसार, राति मधेस, कोसी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाड तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोसी र गण्डकीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाड र तराईका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

वर्षाको मापदण्डअनुसार, १०–५० मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा, ५०–१०० मिलिमिटरलाई भारी वर्षा मानिन्छ। योभन्दा बढी वर्षा भए ‘धेरै भारी’ वा ‘अति भारी’ वर्षा भनिन्छ।

महाशाखाले स्थानीय बाढी, पहिरो र यातायात अवरोधको जोखिम हुने भएकाले नदी आसपासका बासिन्दा, यात्रु तथा किसानलाई सतर्क रहन आग्रह गरेको छ।

आज रातभर पानी पर्ने सम्भावना ८० प्रतिशतभन्दा बढी भएकाले प्रभावित प्रदेशका अधिकांश स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ।


  • Jigyasanepal

थप