महेन्द्रनगर । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक किशोरी बेपत्ता भएकी छन् । पुनर्वास नगरपालिका– ५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
सृजना र लक्ष्मीको शव भेटिएको छ भने डुबेरै भएकी अर्की आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ ।
बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन । यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका– १ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका थिए ।–रासस
- RSS