वासिङ्टन: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्न अमेरिकाको कुनै संलग्नता नरहेको ह्वाइट हाउसले स्पष्ट पारेको छ। सोमबार ह्वाइट हाउसका प्रेस सचिव करिन जिन-पियरेले हसिनाले लगाएको आरोपलाई झुटो भनेकी छिन्।
उनले बंगलादेशको राजनीतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको उल्लेख गर्दै अमेरिकाले बंगलादेशी जनताले आफ्नो सरकारको निर्माण र विघटनको अधिकार पाउनु पर्नेमा जोड दिएको बताइन्।
यसअघि, हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए, तर उनले कुनै प्रमाण भने पेश गरेका थिएनन्। मे महिनामा शेख हसिनाले पनि विदेशी शक्तिहरूले बंगलादेश सरकारलाई सैन्य विमानस्थल निर्माण गर्न अनुमति नदिएपछि आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन्।
अमेरिकासँग सामान्यतया मैत्रीपूर्ण सम्बन्ध रहेको बंगलादेशसँग हाल आएर आरोप-प्रत्यारोपको श्रङ्खला चलेको छ। हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन्।
\- रासस/एएफपी
- RSS