काठमाडौं — सरकारले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। बढेको नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र विश्व राजनीतिक तनावका कारण मूल्य समायोजन गर्नुपरेको बताइएको छ।
Nepal Oil Corporation का अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ का दरले मूल्य वृद्धि गरिएको छ। तर खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
निगमले जारी गरेको स्पष्टीकरणमा अमेरिका–इजरायल–इरानबीच बढेको अन्तर्राष्ट्रिय तनाव का कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको उल्लेख गरिएको छ।
ग्यास २१६ रुपैयाँ महँगो आए पनि नबढाएको दाबी
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारबाट खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँले महँगो भएर आए पनि नेपालमा यसको मूल्य बढाइएको छैन।
त्यस्तै, अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने हो भने पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ तथा डिजेलमा ५४ रुपैयाँसम्म वृद्धि गर्नुपर्ने अवस्था रहेको निगमको दाबी छ। तर उपभोक्तामा पर्ने भार कम गर्न पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ मात्र वृद्धि गरिएको जनाएको छ। यसअनुसार डिजेलमा आएको वास्तविक वृद्धिभन्दा ४४ रुपैयाँ कम मूल्य समायोजन गरिएको निगमले उल्लेख गरेको छ।
नयाँ मूल्य यस्तो
निगमले पेट्रोलियम पदार्थको मूल्य भौगोलिक वर्गीकरण अनुसार निर्धारण गरेको छ।
तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)
पेट्रोल : १७२ रुपैयाँ प्रति लिटर
डिजेल/मट्टीतेल : १५२ रुपैयाँ प्रति लिटर
दोस्रो वर्ग (दाङ, सुर्खेत)
पेट्रोल : १७१ रुपैयाँ प्रति लिटर
डिजेल/मट्टीतेल : १५१ रुपैयाँ प्रति लिटर
पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज)
पेट्रोल : १६९ रुपैयाँ ५० पैसा प्रति लिटर
डिजेल/मट्टीतेल : १४९ रुपैयाँ ५० पैसा प्रति लिटर
निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि किन गर्नुपर्यो भन्नेबारे विस्तृत विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको दबाबका कारण मूल्य समायोजन अपरिहार्य भएको जनाएको छ।
यसबीच लगातार बढिरहेको इन्धन मूल्यले सवारी भाडा, ढुवानी खर्च र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने भन्दै सर्वसाधारणमा चिन्ता बढ्न थालेको छ।
-
Jigyasanepal