अर्जुन अधिकारी काभ्रे, कात्तिक २४ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला केही दिनयता तीन छुट्टाछुट्टै घटनामा फरार रहेका सवारी चालक र हिरासतबाट भागेका प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
मिति २०८२ असोज २० गते साँझ ६:३० बजे बनेपा नगरपालिका–९ निष्ट कलेज अगाडि अज्ञात सवारीसाधनले ठक्कर दिँदा अप्सरा रायमाझीको ज्यान गएको घटनामा संलग्न चालकलाई प्रहरीले २४ घण्टाभित्र नियन्त्रणमा लिएको छ।
ठक्करपछि फरार रहेका कार चालक सुजन रायमाझी (३३ वर्ष) लाई प्रहरीले बा १९ च ३७२९ नम्बरको कारसहित पक्राउ गरेको जनाएको छ। मृतक रायमाझी तेमाल गाउँपालिका–८ मेछेपौवाकी रहकी हाल बनेपा नयाँबस्तीमा डेरा गरी बस्दै आएकी थिइन्। उक्त घटना इलाका प्रहरी कार्यालय बनेपाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१२ घण्टाभित्र टिपर चालक पक्राउ
त्यसैगरी मिति २०८२ असोज २३ गते राति ११:३० बजे धुलिखेल नगरपालिका–४ भकुण्डेचोकस्थित अरनिको राजमार्गमा टिपरबाट लडी २० वर्षीय अनुस श्रेष्ठको मृत्यु भएको घटनामा संलग्न चालकलाई प्रहरीले १२ घण्टाभित्र पक्राउ गरेको छ।
बा.प्र.०१–००४ क ३६३१ नम्बरको टिपर चालक शुसिल कार्की (२७ वर्ष) लाई प्रहरीले काठमाडौं बुढानिलकण्ठ–११ खरिबोटबाट नियन्त्रणमा लिएको जनाएको छ। उनी ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्।
मृतक अनुस श्रेष्ठका साथी उमेश तामाङ (२० वर्ष) घाइते छन् र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
यस्तै, भाद्र २४ गते Gen–Z आन्दोलनका प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय बनेपामा तोडफोड तथा आगजनी गर्दा फरार रहेका १२ जना प्रतिवादीमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये सरोज पोडे देउला (२८ वर्ष), पनौती–४, अभद्र व्यवहारमा मुद्दा छ । उत्तम बहादुर तिमल्सिना (३३ वर्ष), पनौती–९, अभद्र व्यवहारको मुद्धाका, नर बहादुर लुङ्गेली (४६ वर्ष), रोशी–९, अभद्र व्यवहार मुद्धाका,प्रविन मगर (२३ वर्ष), खोटाङ जन्तेढुङ्गा–६, जबरजस्ती करणी मुद्धाका र भिम बहादुर सुनार (३२ वर्ष), रोशी–१, सवारी अंगभंग छन् ।
प्रहरीले सबै प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी बाँकी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिएका छन्।
काभ्रेली प्रहरीले पछिल्ला जेन जी आन्दोलन मा व्यक्तिको निजी सम्पत्ति तथा सरकारी सम्पतिमा आगजनी गर्ने घटनामा सम्लग्न देखाएकको खोजतलास गरिरहेको छ ।
-
Jigyasanepal