हुम्ला । लामो समयदेखि वर्षा नहुँदा सुक्खापनको चिन्तामा परेका हुम्लावासीले यस वर्ष पहिलोपटक वर्षा र हिमपातको अनुभव गरेका छन्। गत भदौयता वर्षात् नभएको हुम्लामा हाल वर्षासँगै हिमपात सुरु भएपछि मौसममा उल्लेख्य परिवर्तन देखिएको छ।
जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा भइरहेको छ भने माथिल्लो भेग—विशेषगरी सिमकोट, नाम्खा लगायतका क्षेत्रमा हिमपात भइरहेको छ। लामो समयसम्म हिउँ नपर्दा चिन्तित बनेका किसानहरू भने हिमपात सुरु भएसँगै उत्साहित देखिएका छन्। किसानका अनुसार हिउँ परेपछि जमिनमा चिस्यान बढ्ने र आगामी बालीका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ।
तर, अर्कोतर्फ हिमपातले जनजीवन कष्टकर बनेको छ। चिसो अत्यधिक बढेको छ भने दैनिक आवतजावतमा समेत समस्या देखिएको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले स्थानीय बासिन्दा र आवागमनमा निर्भर व्यवसायीहरूलाई समस्या थपिएको छ।
मौसमको खराबीका कारण उच्च हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। मौसम अझै केही दिन प्रतिकूल रहन सक्ने अनुमान गरिएको छ।
-
Jigyasanepal