बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। गाई चराउन जङ्गल गएका स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने ‘विचार दमार’ जङ्गल क्षेत्रमा भण्डारीमाथि बाघले एक्कासि आक्रमण गरेको हो। उनी गाई चराउने क्रममा जङ्गलभित्र पुगेका थिए।
भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले आक्रमण गरी भण्डारीलाई तानेर लगेको जानकारी प्रहरीलाई गराएका थिए। घटनास्थलमा रहेका अन्य व्यक्तिमाथि पनि बाघले आक्रमण गर्ने प्रयास गरेपछि उनीहरू भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार बाघले आक्रमण गरेको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सौरी खोलादेखि उत्तरतर्फको जङ्गल क्षेत्र हो। घटनास्थल नजिकै करिब ५० मिटरको दूरीमा बाघले एउटा गाईलाई पनि आक्रमण गरी मारेको अवस्थामा फेला परेको छ।
यसअघि पनि केही महिनाअघि सोही कुसुम क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो। पटक–पटक भइरहेका यस्ता घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन् भने जङ्गल आसपासमा चहलपहल गर्दा थप सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
-
Jigyasanepal