काठमाडौँ ।
भदौ २३ र २४ गते देशभर फैलिएर हिंसात्मक रूप लिएको जेन–जी आन्दोलनमा २२ जना मात्रै प्रदर्शनकारीको मृत्यु भएको नेपाली सेनाले स्पष्ट गरेको छ। सेनाले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको जानकारी दिएको हो।
सेनाका अनुसार भदौ २३ गतेको आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने भदौ २४ गतेका घटनामा ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जनाको ज्यान गएको हो। टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको पनि सेनाले जनाएको छ।
आन्दोलनका क्रममा मुलुकभर व्यापक तोडफोड र आगजनी भएको विवरण सेनाले सार्वजनिक गरेको छ। ६८८ वटा सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको सेनाको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, आन्दोलनकै बीचमा ९७८ थान हातहतियार लुटिएको र तीमध्ये ५८६ वटा फिर्ता गरिएको जानकारी सेनाले दिएको छ।
सेनाको भनाइअनुसार, कैदीबन्दीसम्बन्धी तथ्यांक पनि गम्भीर छन्। आन्दोलनका बेला १५ हजार ५८८ जना कैदीबन्दी फरार भएका थिए, जसपछिका सुरक्षात्मक कारबाहीबाट ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइसकिएको छ।
नेपाली सेनाले आन्दोलनका घटनामा आफ्नो संलग्नता, तथ्य र अवस्थाबारे सार्वजनिक धारणा स्पष्ट पार्दै अर्काे भ्रम फैलिन नदिन तथ्यमा आधारित सूचना साझा गर्न खोजेको जनाएको छ।
यसअघि विभिन्न स्रोतहरूले आन्दोलनमा ७६ जनासम्मको मृत्यु भएको दाबी गर्दै आएका थिए, तर सेनाको पछिल्लो विवरणले मृतकको संख्या र पहिचानमा नयाँ मोड ल्याएको छ।
🔹 मुख्य तथ्यहरू संक्षेपमा :
कुल मृत्यु : ७६ जना
प्रदर्शनकारी : २२ जना
प्रहरी : ३ जना
कैदी : १० जना
अन्य : ४१ जना
पहिचान नखुलेका शव : ११ वटा
तोडफोड/आगजनी : १,५८० भन्दा बढी संरचना
लुटिएका हातहतियार : ९७८ मध्ये ५८६ फिर्ता
भागेका कैदी : १५,५८८ मध्ये ८,७९९ पुनः नियन्त्रणमा
नेपालभर चर्चित बनेको जेन–जी आन्दोलनबारे सेनाको यो तथ्याङ्कले घटनाको वास्तविक चित्र
स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ।
-
Jigyasanepal