सर्लाही । बलरा नगरपालिका स्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्। सर्लाहीको वडा नं १, हथिऔलस्थित खोलामा आज ६० वर्षीय गजेन्द्र साहको डुबेर मृत्यु भएको हो।
घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेर भैंसी चराउँदै गरेका साहले उनीहरूलाई बचाउने प्रयासमा खोलामा पसेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार साहको खोलामा डुबेर मृत्यु भएको हो।
दुई बालिकामध्ये १२ वर्षीया निशाकुमारी गिरी बेपत्ता भएकी छिन्, जो सोही स्थान निवासी अजय गिरीकी छोरी हुन्। अर्की १५ वर्षीया पिंकीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएकी छिन्।
बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
- Jigyasa media