काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकामा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज (बुधबार) विशेष अदालत काठमाडौँमा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिक का प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर २ अन्तर्गत सडक मर्मत कार्यका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै कुनै पनि पत्रिकामा सूचना नै प्रकाशन नगरी झुठा बिल तथा भर्पाई तयार पारेर भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरिएको पाइएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर ठहर गरिएको छ। यस प्रकरणमा रु ६५ हजार बिगो कायम गर्दै सोही ऐन बमोजिम कैद सजाय र बिगो बराबरको जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी गरिएको छ।
अख्तियारले सार्वजनिक निकायमा हुने यस्ता अनियमित कार्यप्रति कडा निगरानी जारी रहने उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ।
-
Jigyasanepal