काठमाडौँ । जाडोयाम तीव्र बन्दै जाँदा देशका विभिन्न स्थानमा चिसो, कुहिरो र तापक्रम घट्ने क्रम जारी छ। यससँगै जनस्वास्थ्यमा प्रतिकूल असर देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम हिजो (शुक्रबार) बिहानको ५.५ डिग्री सेल्सियस भन्दा कम हो। हिजो बिहान ८:४५ बजे भने तापक्रम झन् घटेर ५.० डिग्री सेल्सियस पुगेको थियो। आज पनि काठमाडौँको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, जुन समयमा तापक्रम अझ घट्ने सम्भावना रहने मौसमविद्हरू बताउँछन्।
मौसम महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। राति आकाश सफा रहेमा बिहान चिसो बढ्ने र बादल लागेमा न्यूनतम तापक्रम बढ्ने गर्दछ। त्यसैगरी दिउँसो घाम लागेमा अधिकतम तापक्रम बढ्ने र बादल लागे घाम नदेखिँदा घट्ने गर्छ।
चिसो बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ। साथै जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पुर्याउने र दम तथा क्यान्सरजस्ता दीर्घ रोगको जोखिम बढाउने मन्त्रालयको चेतावनी छ।
विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, न्यानो लुगा लगाउन, पोषक तत्वयुक्त सन्तुलित खाना खान तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ। साथै सरसफाइमा ध्यान दिन, प्रशस्त झोल पदार्थ सेवन गर्न र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि सुझाव दिइएको छ।
त्यसैगरी मन्त्रालयले आगो, हिटर तथा गिजर प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउन विशेष आग्रह गरेको छ। पछिल्ला वर्षहरूमा जाडोयाममा यस्ता उपकरणको लापरवाहीपूर्ण प्रयोगका कारण मृत्यु तथा अस्पताल भर्ना हुने घटना बढ्दै गएको उल्लेख गरिएको छ। हावा आवतजावत नहुने कोठामा आगो वा तताउने उपकरण प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यान जोखिममा पर्न सक्ने भएकाले यस्ता उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडान गर्न मन्त्रालयले आग्रह गरेको छ।
यदि यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी हुने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवतजावत हुने खुला स्थानमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। आवश्यक परेमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ मा परामर्श लिन सकिने पनि मन्त्रालयले जनाएको छ।
-
Jigyasanepal