Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जेनजी आन्दोलनको भयावहता : भाटभटेनीमा जलेका ६ शव अझै अज्ञात, डीएनए परीक्षणमै आशा

  •   ११ महिना अघि | ३० असोज २०८२, बिहिबार

काठमाडौँ | असोज ३०, २०८२, बिहीबार

JigyasaNepal

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा चाबहिलस्थित चुच्चेपाटी भाटभटेनी भवनमा लागेको आगलागीले जलेर मृत्यु भएका ६ जना व्यक्तिको अझै पहिचान हुन सकेको छैन।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले ती शवहरू पूर्णरूपमा जलेर खरानी मात्र बाँकी भएकाले डीएनए परीक्षण कठिन भएको बताएका छन्।

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले ती ६ वटा शवबाट कंकाल र खरानीको नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाएको छ।

तर, नमुनाबाट व्यक्तिको परिचय पत्ता लगाउने सम्भावना निकै न्यून रहेको विभाग प्रमुख डा. गोपाल चौधरीले बताएका छन्।

उनका अनुसार, “ती शवहरू पूर्ण रूपमा जलेर खरानी मात्र बाँकी थिए। हामीले सम्भव हुने केही अंश — दाँत, हड्डीका टुक्रा, र खरानी — परीक्षणका लागि पठाएका छौँ। तर त्यस्ता नमुनाबाट पहिचान गर्न कठिन हुन्छ।”

डा. चौधरीका अनुसार, अहिलेसम्म आफन्तले कसैले पनि हराएका व्यक्तिको रूपमा ती शवबारे सम्पर्क नगरेका कारण पहिचानको प्रक्रिया अघि बढ्न सकेको छैन।

“प्रहरी प्रयोगशालामा आफन्त उपस्थित भई डीएनए नमुना नदिएसम्म परीक्षण प्रक्रिया सुरु हुँदैन,” उनले स्पष्ट पारे।


उनले थपे, “हाम्रो काम नमुना संकलन हो। त्यसपछि परीक्षण र तुलना कार्य प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले गर्छ। तर यस्ता पूर्णरूपमा जलेका नमुनाबाट व्यक्तिको डीएनए पत्ता लगाउन झिनो सम्भावना मात्रै हुन्छ।”

शवका केही अंग — जस्तै दाँत, कपाल वा रगत — बाँकी रहे मात्र सटीक डीएनए परीक्षण सम्भव हुने चौधरीको भनाइ छ। तर, भाटभटेनीमा फेला परेका शवहरूमा त्यस्ता अंग नदेखिएकाले पहिचान गर्न दुई महिना वा सोभन्दा बढी समय लाग्न सक्ने बताइएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशभर तरङ्ग ल्याएको थियो। त्यस क्रममा राजधानीको विभिन्न स्थानमा तोडफोड, आगजनी र भिडन्त भएका थिए।

त्यसमध्ये सबैभन्दा भयावह दृश्य चुच्चेपाटीस्थित भाटभटेनी भवनमा लागेको आगलागी थियो, जहाँ ६ जना मानिसको ज्यान गएको आशंका गरिएको छ।

तर अहिले पनि प्रश्न उब्जिरहेको छ —

“ती ६ जना को हुन् ? आन्दोलनकारी, सर्वसाधारण कि अरू कोही ?”

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ भने डीएनए परीक्षणको रिपोर्ट आउन दुई महिना लाग्ने अनुमान गरिएको छ।

  • Jigyasanepal

थप