काठमाडौँ |
फागुन १, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। कुल दुई करोड तीन लाख मतपत्र छाप्नुपर्नेमा हालसम्म एक करोड ७३ लाख मतपत्र तयार भइसकेको छ।
मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बागमती प्रदेशबाहेक अन्य छ वटा प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न गरिसकेको जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार हाल दैनिक १२ देखि १५ लाखका दरले मतपत्र छापिँदै आएको छ। बाँकी बागमती प्रदेशका मतपत्र पनि आउँदो आइतबारसम्म छापिसकिने लक्ष्य राखिएको छ।
“आज बिहानसम्म छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ,” प्रबन्ध निर्देशक पौडेलले बताए। “आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ सकिएसँगै सबै काम पूरा हुनेछ।”
केन्द्रका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र तयार भइसकेका छन्। कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा मतपत्र ढुवानी भइसकेको वा जारी रहेको छ। बागमती प्रदेशअन्तर्गत सिन्धुली, रामेछाप, रसुवा र सिन्धुपाल्चोकको छपाइ सकिएको छ भने अन्य जिल्लाको कार्य जारी छ।
उम्मेदवारको संख्याअनुसार मतपत्रको आकार फरक–फरक हुने भएकाले छपाइ प्रक्रियामा केही समय लागेको केन्द्रले जनाएको छ। धेरै उम्मेदवार भएका जिल्लामा ठूलो आकारको मतपत्र छाप्नुपर्ने भएकाले छपाइ व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो।
छपाइ सकिएका जिल्लामा मतपत्र नेपाली सेनाको सुरक्षा घेराभित्र ढुवानी सुरु भइसकेको छ। विकट हिमाली जिल्ला तथा सडक सञ्जालले नछोएका निर्वाचन क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत मतपत्र पुर्याउने तयारी गरिएको छ।
यसअघि नै निर्वाचन आयोगले १० लाख नमुना मतपत्र र २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र जिल्ला–जिल्लामा पठाइसकेको छ। भक्तपुरस्थित केन्द्रको छापाखानामा कडा सुरक्षाबीच बाँकी मतपत्र छपाइ कार्यलाई तीव्रता दिइएको छ।
निर्वाचन नजिकिँदै जाँदा मतपत्र तयारी र ढुवानीको काम द्रुत गतिमा अघि बढाइएसँगै देश निर्वाचनमय बन्दै गएको छ।
-
Jigyasanepal