काठमाडौं । लेखक होम परिबाग द्वारा लिखित नयाँ पुस्तक ‘नेपालमा को–के ठीक छैन ?’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समाजका विविध पक्षहरूमा गहिरो विश्लेषण प्रस्तुत गर्दै सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक यो गैरआख्यान कृति बजारमा ल्याएको हो।
'नेपाललाई आधा भरिएको गिलास' को रूपमा हेर्ने प्रचलित दृष्टिकोणबाट अगाडि बढ्दै लेखकले यो पुस्तकमा नेपाललाई पूर्ण रूपमा भरिएको गिलासमा बदल्ने संकल्पसहितको चिन्तन प्रस्तुत गरेका छन्। लेखकको विश्वास छ— सकारात्मक सोचमार्फत नेपालमा आशाको नयाँ बीऊ रोप्न सकिन्छ।
कस–कसको लेखाजोखा ?
पुस्तकले नेपाली समाजमा विद्यमान गम्भीर समस्याहरूको सजीव चित्रण गरेको छ। यथार्थवादी शैलीमा लेखिएको यस कृतिमा राजनीति, राजनीतिज्ञ, शक्ति सन्तुलन, कर्मचारीतन्त्र, पत्रकारिता, व्यापार, बैंक तथा वित्तीय क्षेत्र, कानुन व्यवस्था, सुरक्षा निकाय जस्ता क्षेत्रहरूमा रहेका विकृति–विसंगतिको गहिरो विश्लेषण गरिएको छ।
यसैगरी, बस–ट्याक्सी चालकदेखि शिक्षक, विदेशिएका नेपाली, शहर–गाउँको अन्तर, कलाकार र गीत–संगीत, ठेकेदार प्रणाली, शिक्षामा देखिएका खोट, समाजमा बढ्दो गरिब–धनी असमानता जस्ता यथार्थहरूलाई सरल भाषामा प्रस्तुत गरिएको छ।
सिर्जनात्मक गैरआख्यानको शैलीमा लेखिएको पुस्तक
पुस्तकको मूल उद्देश्य ‘के–के बिग्रिए र किन ?’ भन्ने कुराको खोतल हो। लेखकले यिनै समस्याको जरा कहाँ छ र समाधान कसरी सम्भव छ भन्ने प्रश्नको उत्तर दिन खोजेका छन्। पुस्तक अन्त्यमा लेखकले ‘अबको बाटो के हो?’ भन्ने सन्देश पनि दिन खोजेका छन्।
लेखक परिचय
गोरखा–धादिङको सिमाना आरुघाटमा जन्मिएका लेखक होम परिबागको साहित्यिक यात्रा पत्रकारिताबाट सुरु भएको हो। उनले ‘याद हराएको मान्छे’ उपन्यासमार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए। बेलायतमा बसोबास गर्दै आएका परिबागका यसअघि गीत, कविता र विचार कृति पनि प्रकाशित छन्।
पुस्तक ‘नेपालमा को–के ठीक छैन ?’ नेपाली समाजको गहिरो आत्ममूल्याङ्कन हो, जसले हरेक जिम्मेवार नागरिकलाई आफ्नै भित्र झुल्किने ऐनाको सामना गराउन बाध्य बनाउँछ।
-
Jigyasanepal