– जिज्ञासा नेपाल, काठमाडौं
नेपाली मौलिक लोकसङ्गीतको संरक्षण र प्रवर्धनमा समर्पित सर्जक तथा गायिका लक्ष्मी तिवारी (लोकप्रिय रुपमा तिवारी आमा) लाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान – २०८१’ प्रदान गरिने भएको छ।
नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यस वर्षको सम्मान तिवारीलाई प्रदान गरिने समाजका उपाध्यक्ष डा. सदानन्द कडेलले जानकारी दिएका छन्। १५ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको यो सम्मान आगामी वैशाख ९ गते काठमाडौंमा विशेष समारोहबीच प्रदान गरिनेछ।
पाल्पाको रामपुर निवासी तिवारी लोकगीत गायन र मौलिक सृजनामा दशकौँदेखि क्रियाशील छन्। सामान्य औपचारिक शिक्षा प्राप्त गरेकी भए पनि उनी समाजका विकृति, विसंगति र पीडालाई गीत, कविता र श्लोकमार्फत उजागर गर्न निडरतापूर्वक प्रस्तुत हुने सर्जकको रूपमा परिचित छिन्। विशेषगरी तीज गीतमार्फत उनले परदेशिएका नेपाली दाजुभाइ तथा परिवारजनको पीडालाई सशक्त स्वर दिएकी छन्।
सम्मान सिफारिस समितिका संयोजक साहित्यकार प्रकाश घायलका अनुसार तिवारीको सिर्जनामा जीवन भोगाइ, ग्रामीण संस्कृति र महिला पीडाको गहिरो संवेदना पाइन्छ। समिति सदस्यहरूमा डा. शान्तिमाया गिरि र पुष्पा खनाल रहेका छन्। समितिको सिफारिसलाई समाजको कार्यसमितिले अनुमोदन गरी औपचारिक रूपमा सम्मान प्रदान गर्ने निर्णय लिएको हो।
उपाध्यक्ष डा. कडेलका अनुसार, तिवारीजस्ती जुझारु, मौलिक र जनजनका आवाज बोकेकी सिर्जनशील महिलालाई सम्मान गर्नु नेपाल स्रष्टा समाजको गर्वको विषय हो। उनले भने, “लोकसंस्कृति जोगाउने यस्ता स्रष्टा हाम्रो मौलिक पहिचानका जीवित प्रतीक हुन्।”
समाजका अनुसार, आगामी वैशाख ९ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा विशिष्ट स्रष्टा, साङ्गीतिक कलाकार र साहित्यकारहरूको उपस्थितिमा तिवारी आमालाई सम्मानित गरिनेछ।
गीतकार पुष्पा खनालले वि.सं.२०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन् ।
- Jigyasa media