ललितपुर – मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पण भएको छ। बिहीबार ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जाउलाखेलमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो।
कार्यक्रममा गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल, कवि श्रीओम श्रेष्ठ ‘रोदन’, रामकाजी कोनेलगायत साहित्यिक व्यक्तित्वहरूले मुक्तकसंग्रहको विमोचन गरे। नेपाल स्रष्टा समाजद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि खरेलले मुक्तककार अधिकारीको कृतिले पाठकको मन तान्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय मुक्तक विधाले उल्लेखनीय प्रगति गरिरहेको चर्चा गर्दै यस अभियानमा संलग्न सर्जकहरू धन्यवादको पात्र रहेको उल्लेख गरे।
नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, वरिष्ठ कवि विधान आचार्य, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककारका पिता मुक्तिनाथ खनाललगायतले कृतिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।
मुक्तककार अधिकारीले बाल्यकालमा विद्यालयमा गुरुले वाचन गरेका कविताहरूबाट प्रेरित भएर साहित्यमा लागेको अनुभव सुनाइन्। उनले सुनेका, देखेका र भोगेका अनुभूतिहरू मुक्तकमार्फत अभिव्यक्त गरेको बताइन्।
समालोचक डा. शान्तिमाया गिरीले ‘मायामा माया’ मुक्तकसंग्रह प्रेम, विश्वास र जीवनका विविध पक्षलाई उजागर गर्ने कृति भएको बताइन्। करिब ४५० मुक्तक समेटिएको उक्त संग्रह श्रृंगारिक भावनाले भरिएको बताउँदै उनले नारीका विषयमा पुरुषको प्रेमिल प्रशंसा मुक्तकमा प्रमुख रहेको टिप्पणी गरिन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले एउटै विषयमा ४५० मुक्तक लेख्ने साहसका लागि मुक्तककार अधिकारीलाई बधाई दिए। साथै, उनले मुक्तक विधाको प्रवर्द्धनमा नेपाल मुक्तक प्रतिष्ठानको योगदानको चर्चा गरे।
नेपाल स्रष्टा समाजका सचिव प्रकाश घायलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य माधव बिंडारी ‘चेतनपथ’ ले गरेका थिए।
- Jigyasa media