काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यो निःशुल्क सेवा मंसिर १ गतेबाट लागू हुनेछ र काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, तथा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ।
मन्त्री पौडेलले यो निर्णयलाई राज्यको सामर्थ्य र स्वास्थ्य नीति अनुसार बालबालिकालाई क्यान्सरको उपचारमा सहजता दिनका लागि लिएको बताए। नेपालमा बालबालिकामा क्यान्सरको दर बढ्दो छ र उपचारको अभावमा कैयौं बालबालिका असमयमै ज्यान गुमाइरहेका छन्। यो निर्णयसँगै आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूले समयमै उपचार पाउने अवसर पाउनेछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, राज्यद्वारा निःशुल्क सेवा पुर्याउन आन्तरिक स्रोतको उपयोग गरिनेछ। साथै, मन्त्री पौडेलले क्यान्सर न्यूनीकरणका लागि यसअघि नै राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरिसकेका थिए, जसले बालबालिकामा क्यान्सरको जोखिमलाई घटाउने लक्ष्य लिएको छ।
यस निर्णयसँगै सरकारले नेपालमा क्यान्सर उपचारको पहुँच विस्तारमा ठूलो कदम चालेको छ।
- Jigyasa media