काठमाडौं, मंसिर ८ । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते सुर्खेतमा हुने तय भएको छ।
प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि ६ खेलका प्रतिस्पर्धा सञ्चालन हुन लागेका हुन्। जसमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी रहेका छन्।
प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। एथ्लेटिक्स, क्रिकेट, फुटबल, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, बक्सिङ, ह्यान्डबल, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बीलगायतका खेल सुर्खेतमै आयोजना गरिनेछ।
अन्य खेलका लागि विभिन्न जिल्लालाई केन्द्र तोकिएको छ। टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछन्।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। विभिन्न प्रदेशका खेलाडी तथा टोलीहरू पनि प्रतियोगितामा सहभागी हुन सुर्खेत पुगिसकेका छन्। वीरेन्द्रनगरस्थित रंगशाला सोमबार उद्घाटन गरी प्रतियोगिताका लागि हस्तान्तरण गरिएको छ।
प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। र्यालीमा मुख्यमन्त्री मङ्गलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो।
लामो समयको प्रतीक्षापछि कर्णालीमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते सुर्खेत रंगशालामै हुने कार्यक्रम तय गरिएको छ।
-
Jigyasanepal