Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?

  •   २ दिन अघि | ५ मंसिर २०८३, शनिबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले आज नयाँ इतिहास रच्दैछ। उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको साविक विजेता लुम्बिनी लायन्स र पहिलोपटक च्याम्पियन बन्ने दाउमा रहेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच आज उपाधिका लागि निर्णायक भिडन्त हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोली ट्रफी उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो।

यसपटक पनि फाइनलमा भेट भएपछि सुदूरपश्चिमसँग अघिल्लो हारको बदला लिने अवसर छ भने लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै आफ्नो वर्चस्व कायम राख्ने योजनामा छ।

सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो।

सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हारेको थियो। लगातार तीनपटक फाइनल पुगे पनि उपाधिविहीन रहेको टोली यसपटक भने इतिहास बदल्ने लक्ष्यमा छ।

यता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले फाइनलमा अघिल्ला खेलको नतिजाभन्दा वर्तमान प्रदर्शन महत्त्वपूर्ण हुने बताएका छन्। फाइनलअघिको पत्रकार सम्मेलनमा उनले प्रतियोगिताभरको मेहनतले टोलीलाई उपाधि नजिक पुर्‍याएको उल्लेख गर्दै अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए।

लगातार दोस्रो उपाधि आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण लुम्बिनी टोलीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ पक्ष बलियो रहेको उल्लेख गर्दै त्यसको सामना गर्न टोलीले आवश्यक रणनीति बनाएको बताएका छन्।

अब सबैको ध्यान कीर्तिपुर मैदानमा केन्द्रित छ। एकातिर उपाधि जोगाउने लुम्बिनीको लक्ष्य छ भने अर्कोतिर लगातार तीन फाइनल खेलेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमको पहिलो च्याम्पियन बन्ने सपना। आजको प्रदर्शनले एनपीएलको तेस्रो संस्करणको नयाँ च्याम्पियन तय गर्नेछ।

  • Jigyasanepal

थप