काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज भारतको दुईदिने राजकीय भ्रमणमा निस्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्ने विषय प्राथमिकतामा रहने जनाइएको छ। विशेषगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ।
त्यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका अवसरमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताका क्षेत्रमा आपसी सहयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले अघि सारेका नीतिगत व्यवस्था, लगानीका अवसर र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्ने र नेपाली तथा भारतीय निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यसमेत फोरमले राखेको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन्।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।
-
Jigyasanepal