Breaking News
मोदीसँग आज निर्णायक वार्ता गर्दै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि आर्थिक सहयोगसम्मका एजेन्डा    ||     काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.१ डिग्रीमा झर्‍यो    ||     प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||    

मोदीसँग आज निर्णायक वार्ता गर्दै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि आर्थिक सहयोगसम्मका एजेन्डा

  •   १ घण्टा अघि | ७ मंसिर २०८३, सोमवार

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै छन्। नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल हुने यस भेटमा विशेषगरी हवाई रुट, आर्थिक सहयोग, ऊर्जा, यातायात तथा कनेक्टिभिटीका विषयले प्राथमिकता पाउने भएका छन्।

प्रधानमन्त्री शाह र मोदीबीच करिब ३० मिनेट एक्लाएक्लै (वान अन वान) वार्ता हुने कार्यक्रम छ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच संयुक्त छलफल हुनेछ। आजै भारतीय राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहले गार्ड अफ अनर ग्रहण गर्ने कार्यक्रमसमेत रहेको छ।

यसअघि आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाह बसेको ताज होटल पुगेर करिब २० मिनेट कुराकानी गरेका थिए। साँझ ५ः४८ बजे होटल पुगेका जयशंकरसँग प्रधानमन्त्री शाहले द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले क्रिकेट कूटनीतिलाई अघि बढाउने विषय उठाउँदै नेपाल र भारतका क्रिकेट टोलीबीच सहकार्यको सम्भावनाबारे कुरा राखेका थिए। त्यसमा विदेशमन्त्री जयशंकरले प्रक्रियागत चुनौतीहरूबारे आफ्नो धारणा राखेका थिए। जवाफमा प्रधानमन्त्री शाहले ‘पहिला आदर्श कुरा गरौँ, प्रक्रिया त मिल्दै जान्छ’ भन्ने आशय व्यक्त गरेका थिए।

त्यसपछि जयशंकरले भारतीय क्रिकेट टोलीले अन्य देशका टोलीसँग गरेको सहकार्यको अनुभव सुनाएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री शाहले भारतसँग समदूरी र विश्वासमा आधारित सम्बन्ध अघि बढाउने प्रयास गरिरहेका छन्। यही उद्देश्यअनुसार विभिन्न एजेन्डामा सहमति जुटाउने गरी छलफल भइरहेको छ।

प्रधानमन्त्री शाहसँगको संक्षिप्त संवादपछि विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टै छलफल गरेका थिए। उक्त भेटमा भने विषयगत एजेन्डामा केन्द्रित रहेर कुराकानी भएको स्रोतको भनाइ छ।

हवाई रुटमा सहमति जुटाउने चुनौती

प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई रुटको विषय प्रमुख एजेन्डाका रूपमा देखिएको छ। नेपालले लामो समयदेखि महाकाली प्रवेश विन्दुबाट हवाई रुट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आए पनि अहिलेसम्म सहमति हुन सकेको छैन।

यसपटक भारतले बागडुगराको रुटसमेत प्रस्ताव गरेपछि छलफल थप जटिल बनेको नेपाली पक्षको बुझाइ छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जनकपुर र भैरहवाका सन्दर्भमा त्यति ठूलो समस्या नरहे पनि महाकाली प्रवेश विन्दु र बागडुगराको विषयमा सहमति जुटाउन कठिनाइ भइरहेको छ।

स्रोतका अनुसार भारतले अचानक बागडुगराको रुटको विषय अघि सारेपछि नेपालले त्यसको सम्भावित प्रभावबारे अध्ययन गरिरहेको छ। भारतको प्रस्ताव स्वीकार गर्दा भविष्यमा पर्न सक्ने असरसमेत मूल्याङ्कन भइरहेको बताइएको छ। यद्यपि, छलफलबाट सहमति जुट्नेमा नेपाली पक्ष आशावादी रहेको स्रोतको भनाइ छ।

हवाई रुटमा ठोस उपलब्धि हासिल गर्ने लक्ष्य प्रधानमन्त्री शाहले राखेको बताइएको छ। नयाँ तथा युवा प्रधानमन्त्रीसँग विश्वासको वातावरण निर्माण गर्दै द्विपक्षीय सम्बन्धमा सकारात्मक सन्देश दिन भारतीय पक्षले पनि पहल गरिरहेको स्रोतहरूको दाबी छ।

भोटेकोसी पुनर्निर्माणमा आर्थिक सहयोगको तयारी

भ्रमणका क्रममा नेपालले भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोगसम्बन्धी सम्झौता गर्ने तयारी गरेको छ। नेपाली पक्षका अनुसार यस विषयमा भारत सकारात्मक देखिएको छ। पुनर्निर्माणका लागि दुई सय करोड डलर सहयोग उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको स्रोतको दाबी छ।

त्यसैगरी भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनासम्बन्धी समझदारी गर्ने विषय पनि छलफलमा समेटिएको छ। द्विपक्षीय बैठकमा यातायात, ऊर्जा, कनेक्टिभिटी र आर्थिक साझेदारीलाई मुख्य प्राथमिकता दिइने बताइएको छ।

नेपाल र भारतले साझा प्राथमिकता तथा भविष्यको सहकार्यलाई समेटेर १० बुँदे साझा भिजन पेपरसमेत सार्वजनिक गर्ने तयारी गरेका छन्। उक्त दस्तावेजमा कनेक्टिभिटी विस्तार, आर्थिक साझेदारी, जलस्रोत तथा ऊर्जा विकास र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषय समेटिने बताइएको छ।

विवादित विषयभन्दा कार्यान्वयनयोग्य एजेन्डामा जोड

यसपटकको भ्रमणमा सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन र अग्निपथ योजनाजस्ता संवेदनशील विषयले प्राथमिकता नपाउने संकेत देखिएको छ। तत्काल सहमति र कार्यान्वयन सम्भव हुने विषयमा केन्द्रित रहेर छलफल अघि बढाउने प्रधानमन्त्री शाहको चाहनाअनुसार सरकारी टोलीले तयारी गरेको बताइएको छ।

दुई देशबीचको औपचारिक बैठकपछि विभिन्न विषयमा समझदारी हुने र त्यसपछि प्रधानमन्त्री शाह तथा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। हैदरावाद हाउसमा हुने पत्रकार सम्मेलनमार्फत भेटवार्ताका निष्कर्ष सार्वजनिक गरिनेछ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ। उमेरका हिसाबले दक्षिण एसियाका कान्छा प्रधानमन्त्रीमध्ये एक मानिने शाह र मोदीबीचको भेटलाई दुई पुस्ताबीचको संवादका रूपमा पनि हेरिएको छ।

  • Jigyasanepal

थप