Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै

  •   ३ दिन अघि | ४ मंसिर २०८३, शुक्रबार

तस्बिर : AI

काठमाडौं । हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक पर्व हरिबोधिनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। कात्तिक शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विशेष पूजा आराधना गरी भगवान् विष्णु अर्थात् दामोदर र तुलसीको विधिपूर्वक विवाह गराउने परम्परा छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि आजै ब्युँझने धार्मिक विश्वास छ। यही मान्यताका आधारमा यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। यसलाई ठूलो एकादशीका रूपमा समेत चिनिन्छ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चारमहिने अवधिमा विष्णुभक्तहरूले तुलसीको व्रत, पूजा तथा आराधना गर्ने गर्छन्। यस अवधिलाई चतुर्मास भनिन्छ। भगवान् विष्णु शयनमा रहने धार्मिक मान्यताका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने परम्परा छ। हरिबोधिनी एकादशीसँगै चतुर्मास समाप्त हुने र माङ्गलिक कार्यको सुरुवात हुने धार्मिक विश्वास छ।

यस दिन घरघरमा स्थापित तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाइन्छ। त्यसपछि तुलसीलाई विष्णुप्रिया मानेर भगवान् दामोदर (विष्णु) सँग विवाह गराउने प्रचलन छ। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालो गाडेर विधिपूर्वक पूजा गर्ने परम्परासमेत रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार कात्तिक महिनाभर सबै देवीदेवताको तुलसीमा वास हुने धार्मिक मान्यता छ। त्यसैले तुलसीको पूजा, आराधना र दर्शनलाई विशेष पुण्यदायी मानिन्छ। तुलसीको मठ भएको घरलाई तीर्थ समान मान्ने धार्मिक विश्वाससमेत रहिआएको छ।

धार्मिक मान्यताअनुसार कात्तिक महिनामा तुलसीको माला धारण गर्ने तथा भगवान् विष्णुलाई तुलसीपत्र अर्पण गर्ने कार्यले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। गरुड पुराणमा यस महिनामा विष्णुलाई तुलसीपत्र अर्पण गर्दा ठूलो पुण्य प्राप्त हुने उल्लेख रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।

हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलन पनि छ। रातको समयमा शङ्ख, घण्ट र ढोल बजाउँदै भगवान् विष्णुलाई ब्युँझाउने धार्मिक विधि गरिन्छ। यस क्रममा ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै भजन तथा कीर्तन गर्ने चलन छ।

आजको दिन भक्तजनले निराहार वा फलाहार व्रत बस्ने गर्छन्। एकादशीका दिन अन्न सेवन नगर्ने मान्यताअनुसार सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने परम्परा छ। किसानले उखुको बोटसमेत तुलसीको मठमा गाडेर पूजा गर्ने गर्छन्। यसरी व्रत तथा पूजा आराधना गर्दा पाप नाश भई पुण्य प्राप्त हुने र मोक्ष मिल्ने धार्मिक विश्वास छ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण—भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा विशेष मेला लाग्ने गर्छ। यी चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गर्दा चारै नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

बूढानीलकण्ठस्थित नारायणस्थानमा आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले बताएका छन्। एउटै विशाल शिलामा भगवान् विष्णु र शिवको स्वरूप रहेको बूढानीलकण्ठ मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ।

आज देशभरका विभिन्न नारायण मन्दिर तथा विष्णुका मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ। हरिबोधिनी एकादशीसँगै चार महिनादेखि चल्दै आएको तुलसीको विशेष पूजा तथा व्रतको समापन प्रक्रिया पनि सुरु हुन्छ। धार्मिक परम्पराअनुसार मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसी हवनका लागि विशेष साइत हेराउनु नपर्ने मान्यता रहेको छ। त्यसपछि साइत जुराएर हवन तथा पूजा उद्यापन गरिन्छ।

  • Jigyasanepal

थप