काठमाडौं । तीन सिजनको प्रतीक्षा, दुईपटकको फाइनल हार र तेस्रो प्रयासमा ऐतिहासिक सफलता ! सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई स्तब्ध पार्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमा पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्से र विनोद भण्डारी नायक बने। दुवैले पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
आक्रामक ब्याटिङ गरेका मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए। उनको यो स्कोर जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत रन हो। उनले ४९ बलमै शतक पूरा गरेका थिए। यससँगै उनी जारी संस्करणमा शतक बनाउने तेस्रो खेलाडी बने। समग्र एनपीएल इतिहासमा भने यो छैटौँ शतक हो।
अर्का ओपनर विनोद भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रनको योगदान दिए।
यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३१ बलमा दुई चौकासहित ३० रन बनाए। उनले डार्सी सर्टसँग दोस्रो विकेटका लागि ३०, निरोशन डिकवेलासँग तेस्रो विकेटका लागि ३९ र दिलीप नाथसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए।
डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रन बनाए। निरोशन डिकवेल्लाले २८ रन जोडे। सन्दीप जोराले चार तथा आशिफ शेखले एक रन मात्रै बनाउन सके।
दिलीप नाथले ३९ रनको योगदान दिँदा अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए। छैटौँ विकेटका लागि नाथ र शेखले ३३ रनको साझेदारी गरेका थिए। रुवेन ट्रम्पलमेन चार रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि स्कट कुगेलेजिनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
यो जितसँगै सुदूरपश्चिमले अघिल्ला दुई फाइनलको हारको पीडा पनि बिर्साएको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो।
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक भने उपाधि जित्दै इतिहास बनाएको छ। संयोगवश, पहिलो र दोस्रो संस्करणमा उपाधि जितेका जनकपुर र लुम्बिनीपछि तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमले जितेसँगै एनपीएलका तीन संस्करणमा तीन फरक टोली च्याम्पियन बनेका छन्।
उता, लगातार दोस्रोपटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा रहेको लुम्बिनी भने सुदूरपश्चिमको सानदार प्रदर्शनसामु निराश बन्न पुग्यो।
-
Jigyasanepal