महोत्तरी । उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ । तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छठ पर्वको अन्तिम विधि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पूरा भएको हो ।
गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातअघि देखि निराहार व्रत सुरु गरेका व्रतालुले सोमबार बिहान सूर्य उदाएसँगै सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् । यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो ।
सूर्य उपासनाको महापर्व सम्पन्न भएसँगै व्रतालुहरू छठी घाटबाट घर फर्किएका छन् । पर्वका क्रममा व्रतालुले दीनदुःखी तथा आशामुखीहरूलाई अन्न र वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । यससँगै छठको प्रसाद खाने र खुवाउने क्रम पनि सुरु भएको छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइन्छ । चतुर्थीका दिन पवित्र स्नान गरी चोखोनितो खाएर व्रतको सङ्कल्प गर्ने विधिलाई ‘नहाय–खाय’ भनिन्छ । पञ्चमीका दिन राति एक छाक मात्र नुन नहालेको खाना खाएर गरिने विधिलाई ‘खरना’ भनिन्छ ।
त्यसैगरी षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ ।
छठ पर्वमा ठकुवा, भुसुवा, केरा, विभिन्न फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलगायत परिकार सूर्यदेवलाई चढाइन्छ । पूजामा चढाइएका यी सामग्रीलाई प्रसादका रूपमा ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रलाई बाँड्ने परम्परा छ ।
मिथिलामा छठको प्रसाद खाने र खुवाउने क्रम महिनौँसम्म चल्ने गर्छ । विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा छठको प्रसाद ‘भार’ अर्थात् सोलीमा राखेर पठाउने मैथिल परम्परा रहिआएको छ ।
सूर्यदेवको उपासना गर्दा सुख, शान्ति, सन्तोष प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ छठ पर्व मनाइन्छ । प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा पारिवारिक सुखसमृद्धिको कामनासँग जोडिएको यस पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई समेत बलियो बनाउँदै आएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को सहयोगमा।
-
Jigyasanepal