तस्बिर : AI
काठमाडौं । सूर्यदेव र षष्ठीमाताको आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै छ। चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गर्नेछन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। यस पर्वमा सूर्यदेवको उपासना, आराधना र पूजाका माध्यमबाट सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरिन्छ।
छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्वसमेत विशेष रहेको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ। लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको मानिन्छ।
त्यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावबाट उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ। त्यसै समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको सूर्य पुराणमा उल्लेख रहेको बताइन्छ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमा आधारित रहेको धार्मिक तथा प्राकृतिक मान्यता छ। सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव नहुने विश्वास गरिन्छ। सूर्यको किरणको चिकित्सकीय महत्त्वबारे विभिन्न चिकित्सकले ग्रन्थसमेत लेखेका छन्। सूर्यको किरणबाट विभिन्न रोगको उपचारसम्बन्धी अध्ययन र प्रयोग हुँदै आएको छ।
पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापका कारण कुष्ठरोगबाट पीडित भएको र सूर्यदेवको आराधनापछि रोगमुक्त भएको प्रसङ्गसमेत उल्लेख छ।
छठ पर्वमा श्रद्धापूर्वक व्रत बस्दा दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ। यस अवसरमा व्रतालुहरूले सूर्यदेवलाई विभिन्न फलफूलका झुप्पा, नरिवल, केरा, ठेकुवा तथा अन्य प्रसाद अर्पण गर्ने परम्परा छ। फलफूल तथा प्रसाद चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालुका परिवार, कुटुम्ब तथा सन्तानको कल्याण हुने धार्मिक मान्यता रहेको छ।
आफैँ व्रत बस्न नसक्नेहरूले भने व्रत बसेका व्यक्तिमार्फत आफ्नो मनोकामना पूरा होस् भनी कामना गर्ने परम्परासमेत छ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी विधिपूर्वक छठ पर्व सम्पन्न गरिनेछ।
-
Jigyasanepal