बेलायत ।
आइतबार युकेको आसफोर्डमा काङमाङ नरेश राईको एकल कविता वाचन सम्पन्न भएको छ ।
डेढ सय काव्यप्रेमीमाझ काङमाङले गोर्खा भर्तिले पारेको नदेखिने प्रभावमाथि लेखिएका युद्ध कविता वाचन गरिँदा माहोल भावुक बनेको थियो ।
दुई घन्टा चलेको एकल वाचनमा काङमाङले तीन चरणमा तीन दर्जन कविता सुनाए । दोस्रो चरणमा उनलाई वाचनमा साथ दिन अतिथि कविहरू गोपी सापकोटा, खुपेन सुनुवार, प्रयास दुमी, शान्ति लिम्बू, केदार सङ्केतलगायत मञ्चमा उपस्थित थिए । त्यसैगरी कार्यक्रममा उपस्थित हुन नसकेका कवि जगत नवोदितले नरेश काङमाङउपर रचना गरेको पोट्रेट-कविता कार्यक्रम प्रस्तोता निर्भीकजंग रायमाझीले वाचन गरे ।

२०४५ देखि कविता लेखनमा सक्रिय भोजपुर नागिका कवि काङमाङ नरेश 'पहिचान पुरस्कार'का संस्थापकसमेत हुन् । युद्ध साहित्य लेखन र पहिचानलाई मूल आधार बनाएर लेखिएका उनका कविता, कथा, निबन्ध तथा खोज, अनुसन्धान गरी एक दर्जन पुस्तक प्रकाशित छन् । अहिले उनी नेपाल र बेलायत समान रुपमा बस्दै साहित्य सृजनामा सक्रिय छन् ।

कार्यक्रम 'इकोज अफ पर्वत' पोडकास्ट च्यानलले आयोजना गरेको थियो ।
-
Jigyasanepal