Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

राष्ट्रिय टिमकी कप्तान साम्बाको आर्थिक सहयोग अपिल

  •   ५ महिना अघि | ११ फाल्गुन २०८२, सोमवार

काठमाडौं, फागुन ११ — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो जटिल घुँडाको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै उहाँले शल्यक्रिया र लामो पुनर्स्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभएको हो।

पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी साम्बाले यसअघि एसीएलमा गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको बताउनुभएको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन्।

साम्बाका अनुसार अघिल्लो पटक कतारको अस्पेटार अस्पतालमा गरिएको उपचार उच्चस्तरको भएकाले यसपटक पनि सोही अस्पतालमा उपचार गराउने इच्छा रहेको छ। उहाँको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जनाएको भए पनि साम्बाले आफ्नो चोटको प्रकृति र पूर्व उपचारको अनुभवलाई ध्यानमा राख्दै पुनः अस्पेटारमै उपचार गराउन चाहेको उल्लेख गर्नुभएको छ।

उहाँले उपचारका लागि एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभएको छ। एन्फा नेतृत्वले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने र अन्य प्रक्रिया स्वयं गर्न आग्रह गरेको साम्बाको भनाइ छ। यसका कारण यसअघि तय भएको शल्यक्रिया प्रक्रिया रोकिनुका साथै झण्डै दुई महिना ढिलो गरी पुनः मिति लिनुपर्ने अवस्था आएको उहाँले बताउनुभएको छ।

क्लबबाट प्राप्त बीमाको रकम शल्यक्रिया र ७–८ महिनाको रिह्याबका लागि अपुग हुने भएपछि आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उहाँको भनाइ छ।

साम्बाले आफ्नो सार्वजनिक सन्देशमा कठिन परिस्थितिमा पनि हार नमानेको उल्लेख गर्दै फेरि एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कने प्रतिबद्धता जनाउनुभएको छ। “थाकेको हो, हारेको छैन,” भन्दै उहाँले राष्ट्रिय टोलीप्रति आफ्नो समर्पण दोहोर्‍याउनुभएको छ।

इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि आफूले सधैं नेपालको पहिचान बोकेको महसुस गरेको उल्लेख गर्दै उहाँले देशका लागि शतप्रतिशत समर्पित रहेको बताउनुभएको छ।

राष्ट्रिय टोलीकी कप्तान नै उपचारका लागि आर्थिक सहयोग माग्न बाध्य भएको अवस्थाले खेल क्षेत्रको संरचनागत व्यवस्थापनबारे प्रश्न उठाएको छ। समर्थकहरूले सामाजिक सञ्जालमा साम्बालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगको पहल सुरु गरेका छन्।

  • Jigyasanepal

थप