Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

पशुपतिनाथमा आज बाला चतुर्दशीको महापर्व

  •   १० महिना अघि | २ मंसिर २०८२, मङ्लबार

काठमाडौँ, मंसिर २—

मार्गशीर्ष कृष्ण त्रयोदशीको पावन अवसरमा आज पशुपतिनाथ क्षेत्र बाला चतुर्दशीको महापर्वमा हजारौँ भक्तजनले दिवङ्गत पितृतर्पण, दीपदान र शतबीज छर्ने परम्परागत विधिमा सहभागी हुँदै मानवता, स्मरण र श्रद्धाको अनौठो दृश्यमा परिणत भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न भूगोलबाट आएका भक्तजनले बिहानैदेखि पशुपतिनाथ परिसर, आर्यघाट–गौरीघाट, मृगस्थली, कैलाश र १०८ शिवलिङ्ग वरिपरि असाधारण भीड बढाएका छन्।

रातभर दीपदान–भजन, बिहान शतबीज छर्ने धार्मिक विधि

त्रयोदशीको साँझदेखि नै लाखौँ भक्तजन दिवङ्गत पितृको चिरशान्तिको कामना गर्दै महादीप बालेर जाग्राम बसे। बुधवार बिहान (मार्गशीर्ष कृष्ण चतुर्दशी) उनीहरूले धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो समावेश गरिएको सप्तबीज छरेर बाला चतुर्दशी पर्व मनाए।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार हेमाद्रि धर्मग्रन्थमा बर्णन गरिएअनुसार एक गेडा धानका सय गेडा चढाए बराबरको पुण्य आजको दिन शतबीज छर्दा प्राप्त हुने उल्लेख छ।

“आज एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ,” उनले बताए।

पशुपतिक्षेत्रमा तिलै–तिलमा भक्तजनको लर्को, कोषले जाडोबाट जोगिन पालसहित व्यवस्था

जाडो मौसम भएकोले पशुपति क्षेत्र विकास कोषले भक्तजनका लागि पाल, आगो ताप्ने स्थान, सुरक्षा व्यवस्थापन र स्वयंसेवक सेवा सक्रिय पारेको छ। बिहान सबेरैदेखि बत्ती बाल्न, स्थान सम्हाल्न र विधि सम्पन्न गर्न भक्तजनको भीड बढ्दो थियो।

बालाचतुर्दशीको धार्मिक–पौराणिक कथा : शिवको मृगरूपदेखि बालासुर वधसम्म बाला चतुर्दशीसँग दुई प्रमुख कथाहरू जोडिएका छन्।

पहिलो कथाअनुसार मृगस्थली क्षेत्रमा भगवान् शिव मृगरूप लिएर विहार गर्नुहुन्थ्यो। पार्वतीले शिवरूपी मृग चिन्न विविध बीज छरेकी थिइन्, पछि ती बीज उम्रिएपछि मृगहरूको समूह आएर पार्वतीले शिवलाई चिन्न सकिन्। यही प्रसङ्गबाट शतबीज छर्ने परम्पराको आधार बन्यो।

दोस्रो कथा बालासुर राक्षससँग सम्बन्धित छ। कथाअनुसार पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक व्यक्ति मृतकको गिदी खान अभ्यस्त भएपछि समाजमा ‘बालासुर’ नामबाट चिनिन थाल्यो। स्थानीयको आग्रहमा मित वृषसिंहमार्फत उसलाई मारिएको जनश्रुति छ। वृषसिंहलाई सपनामा भगवान् शिवले आदेश दिएकै कारण आजको दिन श्लेषमान्तक वन वरिपरि शतबीज छर्ने चलन सुरु भएको मानिन्छ।

एक वर्ष नपुगेका शोकाकुल परिवारलाई दीपदान निषेध

प्रा. नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा उल्लेख भएअनुसार जसका परिवारमा भर्खरै मृत्यु भएको र एक वर्ष नपुगेका छन्, उनीहरूले दीपदान र शतबीज रोपण गर्न नहुने धार्मिक मान्यता छ।

यस अवसरमा पशुपति क्षेत्र आएका भक्तजनले वासुकी, गुह्येश्वरी, कैलाश र १०८ शिवलिङ्गको पूजा–अर्चना गर्ने गर्छन्।

यो वर्षको बाला चतुर्दशीमा देशभरको भक्तिभाव झन् तीव्र, पशुपतिमा सुरक्षा कडा

महानगरीय प्रहरी, स्वयंसेवक, स्काउट र प्रहरी बलहरुको संयोजनमा पशुपति क्षेत्रमा विशेष सुरक्षायोजना कार्यान्वयन गरिएको छ। बिहानैदेखि आर्यघाट–गौरीघाट, भोजनाथ, विस्वरूपदेखि गुह्येश्वरीसम्म भक्तजनको ओहोरदोहोर बाक्लो थियो।

  • Jigyasanepal

थप