काठमाडौँ, फागुन १० — फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि अब ११ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले देशव्यापी तयारीलाई तीव्र बनाएको छ। निर्वाचनलाई अधिकतम सहभागीमूलक बनाउने र बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित आयोगले मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
आयोगका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। ती स्वयंसेवकले आममतदाताको घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्त्व तथा निर्वाचनको आवश्यकता बारे जानकारी गराइरहेका छन्।
मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगले यसअघि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिई अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको जनाएको छ।
यसैबीच, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधिमाथि पनि आयोगले कडा निगरानी बढाएको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको बताइएको छ।
आयोगका अनुसार हालसम्म हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र प्रसारकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।
त्यस्तै ११ वटा प्रकरण दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ भने ६५ वटा विषय प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा सिफारिस गरिएको छ। एक वटा प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता शिक्षा, आचारसंहिता कार्यान्वयन र सूचना व्यवस्थापनलाई समानान्तर रूपमा अगाडि बढाउँदै निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
-
Jigyasanepal