Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

मिथिलामा सुरु भयो सूर्य उपासना र आत्मशुद्धिको पर्व ‘छठ’, आज ‘नहाय–खाए’ विधिबाट शुभारम्भ

  •   ११ महिना अघि | ८ कार्तिक २०८२, शनिबार

जनकपुरधाम ।

मिथिलाञ्चलको गौरव, आस्था र संस्कृतिको प्रतीकका रूपमा चिनिने महान सूर्य उपासना पर्व ‘छठ’ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। जनकपुरधामसहित मिथिला क्षेत्रका नदी, पोखरी र तलाउहरू अहिले रंगीन बत्ती र फूलमालाले झलमल छन्। आज ‘नहाय–खाए’ विधिबाट चारदिने यो महान् पर्वको औपचारिक शुभारम्भ गरिएको हो।

गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, मटकोरवा पोखरी, अरगजासरलगायत जनकपुरका प्रसिद्ध छठघाटहरू अहिले श्रद्धा र तयारीले भरिएका छन्। भक्तजनहरूले बिहानैदेखि नुहाइ–धुवाइ गरी शरीर शुद्धीकरण गर्दै व्रतको संकल्प लिएका छन्।

गङ्गासागर छठ समिति अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष घाट सजावटमा विशेष ध्यान दिइएको छ। “विगतका वर्षभन्दा अझ राम्रो व्यवस्था मिलाइएको छ। स्वच्छता, बत्ती र सुरक्षा व्यवस्थामा कुनै कमी रहने छैन,” उनले बताए। यस वर्ष प्रत्येक अघ्र्यका लागि ६ सय रुपैयाँ शुल्क तोकिए पनि, अघ्र्य राख्न चाहने सबैका लागि घाट खुला गरिएको समितिले स्पष्ट पारेको छ।

हाल गङ्गासागरमा तीन छुट्टाछुट्टै समितिले बत्ती, पण्डाल र सरसफाइको अन्तिम तयारी गरिरहेका छन्। अरगजासर पोखरीमा पनि समितिका सचिव वीरेन्द्र कर्णको नेतृत्वमा सफाइ र सजावटको काम तीव्र रूपमा भइरहेको छ। उनले भने, “छठ हिन्दू मात्रै होइन, हाम्रो समाजमा सबै धर्मका मानिसको साझा उत्सव हो। यहाँ मुस्लिम समुदायका श्रद्धालुहरूले पनि श्रद्धापूर्वक पूजा गर्छन्।”

जनकपुरका बजारहरूमा पनि अहिले छठको रौनक छाएको छ। बाँस र माटोबाट बनेका छिट्टी, कनसुपती, घैँटो, कलश, हात्ती र नाङ्लोजस्ता सामग्रीको बिक्री असाध्यै बढेको छ। व्यापारीहरूका अनुसार मागले गर्दा कतिपय ठाउँमा ती सामान अभाव हुन थालेका छन्। माटो र बाँसका सामान शुद्ध र पवित्र मानिने भएकाले श्रद्धालुहरू बिहानैदेखि खरिदमा व्यस्त देखिन्छन्।

चारदिनसम्म चल्ने यो पर्वमा धार्मिक, सांस्कृतिक र पारिवारिक एकता झल्किन्छ।

पहिलो दिन नहाय–खाए (आज) शरीर–मन शुद्धीकरणको प्रतीक हो।

दोस्रो दिन आइतबार खरना मनाइन्छ, जसमा बर्तालुहरूले दिनभर व्रत बसि साँझमा खीर बनाइ सूर्यदेवलाई अर्पण गरी ग्रहण गर्छन्।

तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ ।

छठ पर्व मिथिला सभ्यताको आत्मा मानिन्छ — घरको अन्न, खेतको उत्पादन र आत्मशुद्धिको प्रतीक। यहाँका बासिन्दाहरूले आफ्नो श्रम र समर्पणबाट बनेका खाद्य सामग्रीबाट नै पूजा गर्ने परम्परा जोगाइराखेका छन्।

शान्ति सुरक्षाको दृष्टिले पनि मिथिलाका सबै घाटहरूमा प्रहरीको बाक्लो उपस्थिति छ। जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन र छठ समितिहरूबीचको समन्वयमा सुरक्षा तथा सरसफाइमा कुनै कमी नहुने अधिकारीहरूले बताएका छन्।

मिथिलाको पहिचान, सूर्य आराधना र आत्मानुशासनको पर्व ‘छठ’ यस वर्ष पनि श्रद्धा, विश्वास र भक्ति भावनासहित मनाइँदैछ।

आस्थाको यो उज्यालो पर्वले देशमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा फैलाओस् — यही मंगलकामना। 

  • Jigyasanepal

थप