काठमाडौं — काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर तहमा पुगेको छ। बिहीबार बिहान गरिएको मापनअनुसार उपत्यकाको वायु गुणस्तर चिन्ताजनक अवस्थामा रहेको देखिएको छ।
हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार बिहीबार बिहान ७:२० बजे काठमाडौँ उपत्यकाको वायु प्रदूषण १८४ एक्यूआई पुगेको छ। यो स्तर मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिने दायरामा पर्दछ।
यस अवस्थासँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये चौथो स्थानमा सूचीकृत भएको छ।
विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा भने उज्वेकिस्तानको तास्कन्द पहिलो स्थानमा रहेको छ, जहाँ २३२ एक्यूआई मापन गरिएको छ। त्यसैगरी पाकिस्तानको लाहोर दोस्रो स्थानमा रहेको छ जहाँ २२३ एक्यूआई पुगेको छ भने भियतनामको हनोइ तेस्रो स्थानमा रहेको छ, जहाँ २१८ एक्यूआई मापन गरिएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मानव स्वास्थ्यका लागि ३५ भन्दा कम एक्यूआई सुरक्षित मानिन्छ। सामान्य अवस्थामा ५० सम्मको एक्यूआईलाई स्वीकार्य मानिए पनि त्योभन्दा माथिको स्तर स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।
मापदण्डअनुसार
५१–१०० एक्यूआई : सतर्क रहनुपर्ने अवस्था (पहेँलो सङ्केत)
१०१–१५० एक्यूआई : श्वासप्रश्वास तथा मुटु रोगीका लागि जोखिमपूर्ण
१५१–२०० एक्यूआई : अस्वस्थकर
२०१–३०० एक्यूआई : अति अस्वस्थ
३०१–४०० एक्यूआई : खतरनाक
४०१–४५० एक्यूआई : अत्यन्त खतरनाक अवस्था
मौसमविद्हरूका अनुसार पछिल्लो समय मौसम सुक्खा रहनु, हावा कम चल्नु, उद्योग–कलकारखानाको सञ्चालन र तीव्र विकास निर्माण गतिविधि का कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको हो।
विशेषगरी बालबालिका, वृद्ध, श्वासप्रश्वास तथा मुटुसम्बन्धी समस्या भएका नागरिकलाई बाहिर निस्कँदा मास्क प्रयोग गर्न, अनावश्यक रूपमा खुला वातावरणमा लामो समय नबस्न र सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।
-
Jigyasanepal