१७ पुस, काठमाडौं। अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको पहिलो दिन एक दुखद घटना भएको छ। एक व्यक्तिले भीडलाई लक्षित गर्दै कार कुदाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। घाइतेमध्ये केही सञ्चारकर्मीसमेत छन्।
प्रारम्भिक रिपोर्टअनुसार, कारको ठक्करपछि ती व्यक्तिले गोली प्रहारसमेत गरेका थिए। यो घटना न्यू अर्लिन्सको प्रसिद्ध रात्रिजीवन क्षेत्रको नजिकै भएको हो, जहाँ मानिसहरू नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए।
अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। यो आतंकवादी हमलासँग सम्बन्धित हो या होइन, त्यसबारे अझै पुष्टि भइसकेको छैन। न्यू अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले यसलाई सम्भावित आतंकवादी हमला भएको आशंका व्यक्त गरेका छन्।
समाचार संस्था सीएनएनले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै भनेको छ कि कारले ठक्कर दिएपछि ती व्यक्तिले बन्दुकसमेत चलाएका थिए। घटनापछि प्रहरीसँग गोली हानाहान भएको विवरण आएको छ।
न्यू अर्लिन्सको यो क्षेत्र नयाँ वर्षको उत्सवको क्रममा जनघनत्व अत्यधिक रहने स्थानमध्ये एक हो। घटनाले स्थानीय समुदायलाई गहिरो चोट पुर्याएको छ, भने अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ।
- Jigyasa media