काठमाडौँ – नेपाल प्रहरीको काठमाडौं अपराध महाशाखाको टोलीले काभ्रेबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित एक शिक्षकलाई पक्राउ गरेको छ। धुलिखेल नगरपालिका-५, श्रीखण्डपुरस्थित आफ्नै घरबाट ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार पक्राउ गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहका प्रमाणपत्रहरू नक्कली रहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्रिभुवन विश्वविद्यालयको अभिलेखमा ती प्रमाणपत्रहरू नखुलेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको अपराध महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
पक्राउका क्रममा जफत गरिएका प्रमाणपत्रहरू
एनसिसीबाट जारी स्नातकोत्तर तहको प्रमाणपत्र
त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातकोत्तर तहको प्रोभिजनल क्यारेक्टर
व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र
शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट जारी अस्थायी अध्यापन अनुमतिपत्र
व्यवस्थापन संकायको स्नातक तहको प्रमाणपत्र
दैनिक अध्यापनको नक्कली शिक्षक
श्रेष्ठ लामो समयदेखि बनेपाको बुडोलस्थित काभ्रे उच्च माध्यमिक विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए। पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको छ।
प्रहरीले श्रेष्ठका सबै शैक्षिक प्रमाणपत्र जफत गरेको छ भने यस विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
- Jigyasa media