काभ्रे ।
काभ्रेपलाञ्चोकको विकट खानीखोला गाउँपालिकामा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक रूपले कमजोर तथा स्वास्थ्य सेवामा पहुँच नपुगेका स्थानीयवासीलाई लक्षित गर्दै आयोजित यो शिविरमा ३९१ जनाले विभिन्न रोगका परीक्षण, परामर्श र औषधि पाएका छन्।

गाउँपालिकाको समन्वय र ग्रेस नेपालको नेतृत्व
ग्रेस नेपाल र खानीखोला गाउँपालिकाको आयोजनामा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो। शिविर तालढुंगा स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो। गाउँपालिकाका प्रमुख इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सातै वडाका नागरिकलाई सेवा प्रदान गरिएको थियो।
शिविरमा जनरल मेडिसिन, प्रजनन तथा स्त्रीरोग, बाल रोग, शल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, नाक-कान-घाँटी, आँखा परीक्षण, दन्त रोग, ईसिजी र भिडियो एक्सरे जस्ता सेवा उपलब्ध गराइएका थिए।
१६ प्रकारका रोगको निःशुल्क औषधि वितरण
शिविरका क्रममा १६ विभिन्न रोग पहिचान गरी औषधि वितरण गरिएको थियो। जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका नागरिकका लागि यस किसिमको स्वास्थ्य सेवा अत्यन्त प्रभावकारी रहेको स्थानीयले बताएका छन्।
ग्रेस नेपालको अध्यक्ष राजकुमार थापाको नेतृत्व
ग्रेस नेपालका अध्यक्ष राजकुमार थापाले शिविर सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्ने काठमाडौं मेडिकल कलेज र अन्य संघसंस्थालाई धन्यवाद दिएका छन्। उनले गाउँपालिकाको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि यस किसिमका शिविरलाई नियमित गरिनुपर्ने बताए।
बाढीपहिरो प्रभावितलाई राहत वितरण
शिविरकै अवसरमा वडा नम्बर ६ चनौटेमा असोज ११ र १२ गते गएको बाढीपहिरोका कारण घरबारविहीन १२ परिवारलाई ओड्ने र ओछ्याउने सेट वितरण गरिएको छ। राहत वितरणमा ग्रेस नेपालका अध्यक्ष थापासहित गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो।

स्वागत र उद्घाटन सत्र
शिविर उद्घाटन सत्रमा वडा नम्बर ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, समाजसेवी मिना पाख्रीन र अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आवश्यकता अनुसार निरन्तरता दिनुपर्ने माग
खानीखोलाका स्थानीयले स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन यस्ता कार्यक्रमलाई अझ नियमित र दीर्घकालीन बनाउनुपर्ने माग गरेका छन्। शिविरले स्वास्थ्य सेवा मात्र नभई सामाजिक सहयोगको उदाहरण प्रस्तुत गरेको स्थानीयले बताए, जसले विकट गाउँपालिकामा स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि मार्गप्रशस्त गरेको बताइन्छ ।
- Jigyasa media