काठमाडौं, असोज २४, २०८२ | JigyasaNepal.com
जेन–जी आन्दोलनको नाममा देशभरि भएको हुलदंगाको अवसर छोपेर नख्खु जेलबाट भागेका फरार कैदीहरूले राजधानीमा आतंक मच्चाउन थालेका छन्। यसैक्रममा, नख्खु कारागारबाट भागेका दाङ राप्ती गाउँपालिका–१ निवासी आकाश मगरले ठमेलमा आफ्नै साथीको हत्या गरेका छन्।
प्रहरीका अनुसार, आकाशले गत असोज १३ गते मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङमाथि ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए। गम्भीर घाइते सुरजलाई उपचारका लागि वीर अस्पताल पुर्याइए पनि, असोज १४ गते दिउँसो उनको मृत्यु भएको हो।
हत्या गर्ने आकाश र मृतक सुरज चिनजानका साथी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनापछि आकाश फेरि फरार छन्। प्रहरीले उनको खोजी तीव्र पारेको बताएको छ।
अपराधको पृष्ठभूमि
आकाश मगर लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा रहेका थिए। तर, भदौ २४ गते भएको ‘जेन-जी आन्दोलन’को क्रममा नख्खु सहित देशभरका जेलमा आगजनी र कैदीबन्दी भगाउने घटना भएको थियो। त्यसबेला देशभरका सयौं कैदी फरार भएका थिए, जसमा आकाश पनि एक थिए।
आजसम्म पनि तीमध्ये धेरैजना अझै फरार नै रहेका छन्, जसले समाजमा अपराधको लहर फैलाउँदैछन्।
अपराध श्रृंखलाको अर्को अध्याय : पनौतीमा श्रीमतीको हत्या
यसअघि पनि नख्खु जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते आफ्नै श्रीमती मनीषा तामाङको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए।
केही साताभित्रै लगातार भएका यी दुई हत्याका घटनाले फरार कैदीहरूको नियन्त्रण र खोजीमा सरकारले कति कमजोरी देखाएको हो भन्ने प्रश्न उठाएको छ।
जनसुरक्षा संकटको संकेत
लगातार हुने यी अपराधहरूले राजधानीको सुरक्षालाई गम्भीर चुनौती दिएको छ। प्रहरी स्रोतका अनुसार, भागेका कैदीहरूमध्ये धेरैले पुनः अपराधमा हात हालेका छन्। तर सरकार र सम्बन्धित निकायले फरार कैदीहरूको खोजीमा ठोस कदम नचालेको आलोचना बढ्दै गएको छ ।
स्थानीयवासीहरू भन्छन् —
> “नख्खु जेलबाट भागेका अपराधीहरू पुनः स्वतन्त्र बनेर आम नागरिकको ज्यानमा खेलिरहेका छन्, सरकारले तुरुन्त कारबाही गर्नुपर्छ।”
-
Jigyasanepal