काठमाडौँ । तराईका अधिकांश भूभाग बिहीबार बिहानदेखि बाक्लो हुस्सु तथा कुहिरोले ढाकिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई क्षेत्रमा हुस्सु/कुहिरोको प्रभाव देखिएको छ भने कोसी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली रहेको छ।
महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो पनि तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ। यसले सडक यातायात, दैनिक जनजीवन, स्वास्थ्य तथा हवाई सेवामा समेत आंशिक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यता दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम महाशाखाले हुस्सु–कुहिरो तथा हल्का वर्षा/हिमपातको सम्भावनालाई ध्यानमा राख्दै चेतावनी तथा परामर्श जारी गरेको छ। जारी सूचनामा भनिएको छ—तराई भूभागमा हुस्सु/कुहिरो तथा पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातका कारण जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा असर पर्न सक्ने भएकाले दैनिक अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सबैलाई अनुरोध गरिएको छ।
यसबीच सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत तोपामा बिहीबार बिहान लागेको बाक्लो हुस्सुले दृश्यता निकै कम गरेको छ।
-
Jigyasanepal