कात्तिक १५, २०८२ | काठमाडौं
वैदिक सनातन परम्पराअनुसार भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसी र दामोदर (विष्णु)को दिव्य विवाहसँगै आज देशभर हरिबोधिनी एकादशीको पावन पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
चार महिनाअघि आसार शुक्ल एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा गएका भगवान् विष्णु आज हरिबोधिनी एकादशीका दिन जागरण हुने धार्मिक विश्वास रहेको छ। यही कारण यो दिनलाई हरिबोधिनी (प्रबोधिनी) एकादशी भनिन्छ।
तुलसी–दामोदर विवाहको धार्मिक परम्परा
आजका दिन घर–घरका तुलसी मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि तुलसी र दामोदरको प्रतीक निगालाको लिङ्गलाई साक्षी राखी वैवाहिक विधि सम्पन्न गरिन्छ।
धार्मिक मान्यताअनुसार तुलसी भगवान् विष्णुकी प्रिय भएकी कारण उनको विवाह विष्णुसँग गराउने परम्परा बसालिएको हो।
विष्णु जागरण र चार महिनाको निषेधको अन्त्य
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई “चातुर्मास” भनिन्छ। यस अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेशजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ।
आज विष्णु जागृत भएसँगै विवाहलगायत सबै माङ्गलिक कार्यको शुभ साइत पुनः सुरु हुने धार्मिक विश्वास छ।
रात्रिको समयमा भक्तजनले “गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ” भन्दै शङ्ख, घन्टा र ढोल बजाएर विष्णुलाई जागरण गराउने प्रचलन पनि रहिआएको छ।
तुलसीको वैज्ञानिक र धार्मिक महिमा
तुलसी न केवल धार्मिक दृष्टिले पवित्र मानिन्छ, यो वैज्ञानिक रूपमा पनि उपयोगी औषधि हो।
तुलसीको पात, डाँठ र फूलको रसले रुघाखोकी, औलोजस्ता रोगहरूमा राहत मिल्छ।
तुलसीको सुगन्धले हावामा रहेका विषालु कीटाणु नष्ट गर्छ।
तुलसी भएको घरमा नकारात्मक ऊर्जा र विषालु सर्प नआउने विश्वास छ।
तुलसीको चियाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ।
गरुड पुराणअनुसार भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ।
व्रत, फलाहार र पुण्य
आज व्रत बसेका भक्तहरूले अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु, वनतरुल उसिनेर फलाहार गर्छन्।
हरिबोधिनी एकादशीको व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको पुण्य प्रदान गर्छ भन्ने शास्त्रीय मान्यता छ।
यस व्रतले पापको नाश गरी मोक्ष प्रदान गर्छ भन्ने विश्वास छ।
देशभर विशेष पूजाअर्चना
काठमाडौँ उपत्यकाका चार नारायण — चाँगुनारायण (भक्तपुर), विशङ्खुनारायण (ललितपुर), शेषनारायण र इचङ्गुनारायण (काठमाडौँ) — मा आज विशेष मेला लाग्दैछ।
धादिङको ऐतिहासिक कालिका मन्दिर र नारायणहिटीस्थित चातुर्व्यूह नारायण मन्दिरमा समेत भक्तजनहरूको भीड लागेको छ।
मन्दिरका मठाधीश डा. राजेश्वरानन्दका अनुसार, “आजको दिन चारै नारायणको दर्शन गर्न नसक्नेहरूले बूढानीलकण्ठ नारायणस्थानको दर्शन गरे पनि त्यो बराबरको पुण्य प्राप्त हुने” मान्यता रहेको छ।
हरिबोधिनी एकादशीले धर्म, संस्कार र प्रकृतिप्रतिको आस्था उजिल्याउँछ।
तुलसी–दामोदर विवाह केवल धार्मिक प्रतीक मात्र होइन, मानव र प्रकृतिबीचको सहअस्तित्वको गहिरो सन्देश पनि हो।
आजको दिन भगवान् विष्णुको आराधना गर्ने, तुलसीको पूजा गर्ने र आत्मशुद्धिको संकल्प लिने दिन हो — जसले जीवनमा शान्ति, समृद्धि र मोक्षको बाटो खोल्छ।
-
Jigyasanepal