काठमाण्डौ । भारतको लद्दाखमा हिंसात्मक प्रदर्शन चर्किएपछि चर्चित जलवायु कार्यकर्ता सोनम वाङ्चुकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। बुधबारको प्रदर्शनमा ४ जनाको मृत्यु र ८० भन्दा बढी घाइते भएपछि राजधानी लेहमा कर्फ्यू लगाइएको छ।
शुक्रबार दिउँसो साढे २ बजे वाङ्चुकलाई लद्दाख प्रहरी प्रमुख एस. डी. सिंह जम्वालको नेतृत्वमा प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको विरुद्ध कुन धारामा मुद्दा दर्ता भएको भन्ने भने स्पष्ट गरिएको छैन।
भारतको गृहमन्त्रालयले वाङ्चुकको एनजिओको लाइसेन्स खारेज गर्दै उनलाई अरब स्प्रिङ शैलीको विरोध र नेपालको जेन–जी आन्दोलनको उदाहरण दिँदै ‘उत्तेजक अभिव्यक्ति’ दिएको आरोप लगाएको छ। यसलाई हिंसा भड्काउने कारणका रूपमा प्रस्तुत गरिएको छ।
यता, वाङ्चुकले भने आफूलाई जेल हाल्ने योजनाअन्तर्गत गलत मुद्दा लगाइएको दाबी गरेका छन्। स्रोतका अनुसार, उनको विभिन्न संस्थासहित व्यक्तिगत खाताबाट करोडौँ रुपैयाँ अनियमित रूपमा चलानी भएको आरोप छ। अहिले केन्द्रीय अनुसन्धान ब्युरो (CBI) र आयकर विभागले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।
प्रदर्शनको सुरु भने ३५ दिनदेखि जारी भोकहड्तालका क्रममा दुईजना भू–हड्तालकर्ता अचेत भई अस्पताल पुर्याइएपछि भएको थियो। त्यसपछि व्यापक आक्रोश बढ्दै गयो र सडकमा भिडभाड चर्किँदा हिंसा फैलिएको प्रहरीको भनाइ छ।
लद्दाखका बासिन्दाले लामो समयदेखि राज्यको दर्जा र संविधानको छैटौँ अनुसूचीअन्तर्गत विशेष अधिकारको माग गर्दै आएका छन्। तर हालको हिंसाले आन्दोलनको स्वरूप नै बदलिएको देखिएको छ।
-
Jigyasanepal