Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

भारतमा मिर्गौला तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह भण्डाफोर : ६ जना नेपाली कारागार चलान

  •   ११ महिना अघि | ९ कार्तिक २०८२, आइतवार

काठमाडौँ, कार्तिक ९, २०८२ | Jigyasa Nepal 

मानव बेचबिखन र अवैध मिर्गौला तस्करीमा संलग्न रहेको एक संगठित गिरोह पक्राउ परेर कारागार चलान भएको छ। नेपाली नागरिकलाई आकर्षक रोजगारी र उच्च तलबको प्रलोभन देखाएर भारत पुर्‍याई जबर्जस्ती मिर्गौला निकाल्ने उक्त गिरोहका ६ जना सदस्यहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।

कारागार चलान गरिएका अभियुक्तहरूमा राजकुमार परियार, श्यामकृष्ण भण्डारी, सुजन गिरी (उर्फ सुजन भारती), राकेश नेपाली, समिर नेपाली र राजु तामाङ (उर्फ राजु घलान) रहेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत मानव बेचबिखन, ओसारपसार र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई हाल जगन्नाथदेवल कारागार पठाइएको हो।

 यस्तो छ तस्करीको तरिका

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार प्रतिवादीहरूले भारतका विभिन्न सहरमा रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई सीमा पार पुर्‍याउने गर्थे। त्यहाँ पुर्‍याएर उनीहरूलाई विभिन्न निजी क्लिनिकहरूमा जबर्जस्ती मिर्गौला निकाल्ने, त्यसपछि “सब ठिक भयो” भन्दै नेपाल फर्काउने गरेको प्रमाण खुलेको छ।

पक्राउ परेकामध्ये समीर नेपालीलाई साउन २१ गते काठमाडौंको नयाँ बसपार्कबाट, राकेश नेपालीलाई २२ गते टोखा बानियाँटारबाट, राजकुमार परियारलाई काभ्रेको पाँचखाल–१० बाट, श्यामकृष्ण भण्डारीलाई कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट, सुजन गिरी (भारती) लाई पर्सा प्रहरीको सहयोगमा वीरगञ्ज नाकाबाट, र राजु तामाङलाई भदौ १४ गते पक्राउ गरिएको हो।

 ६ लाखमा मिर्गौला बेच्ने र ५० हजारमा बिचौलिया

अनुसन्धान अनुसार गिरोहले प्रत्येक मिर्गौला ६ लाख रुपैयाँमा भारतीय तस्करलाई बेच्ने गर्थे। मिर्गौला दिने नेपालीलाई ६ लाख दिने वाचा गरिए पनि, पीडितहरूले ५ हजार रुपैयाँसम्म मात्रै पाएको प्रहरीलाई बताएका छन्।

गिरोहका बिचौलियाहरूले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङका गरिब र बेरोजगार नागरिकलाई लक्षित गरी फसाउने गरेका थिए। प्रत्येक व्यक्तिलाई फसाएबापत बिचौलियालाई ५० हजार रुपैयाँ दिने गरेको खुलासा भएको छ।

कानुनी सजाय

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रचलित कानुनबाहेक मानिसको अङ्ग झिक्ने कसुरमा १० वर्ष कैद र रु. २ लाखदेखि ५ लाखसम्म जरिवाना सजायको प्रावधान छ।

त्यस्तै, संगठित अपराध निवारण ऐन २०७० अनुसार समूहगत रूपमा यस्तो अपराध गरेमा तोकिएको सजायमा डेढ गुणा बढी सजाय हुने कानुनी व्यवस्था छ।

 प्रहरीको भनाइ

प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, “यो गिरोहले दशकौंदेखि गरिब, अशिक्षित र बेरोजगार नेपालीलाई फसाउँदै आएको पाइएको छ। अब उनीहरूविरुद्ध कानुनी कारबाही कडा रूपमा अघि बढाइनेछ।”

 चेतावनी

प्रहरीले सबै नेपाली नागरिकलाई “विदेशी रोजगारीको प्रलोभन दिने अपरिचित व्यक्तिहरूप्रति सजग रहन” आग्रह गरेको छ। मिर्गौला तस्करीजस्ता अमानवीय अपराधका विरुद्ध राज्यले शून्य सहनशीलता नीति अपनाउने जनाएको छ।

  • Jigyasanepal

थप