रोल्पा । अविरल वर्षापछि गएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको हो।
घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसोदेखि परेको अविरल वर्षापछि पहिरो खस्दा घरसँगै गोठ पुरिएका थिए। घटनापछि प्रहरी टोली घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य अघि बढाएको थियो।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोका कारण करिब ६ वटा घर तथा गोठमा क्षति पुगेको छ। घटनाको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा भूक्षयको जोखिम बढेकाले स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरिएको छ।
तस्बिर AI
-
Jigyasanepal