Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

आज देखि श्री स्वस्थानी व्रत कथा सुरु, साँखुस्थित शालिनदीमा व्रतालुको घुइँचो

  •   ९ महिना अघि | १९ पुस २०८२, शनिबार

काठमाडौँ । आजदेखि वैदिक सनातन धर्मावलम्बीहरूको आस्थासँग जोडिएको स्वस्थानी व्रत कथा विधिवत् रूपमा सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने स्वस्थानी व्रत, माघ स्नान र कथा वाचन परम्पराअनुसार घरघरमा आरम्भ गरिएको हो।

स्वस्थानी व्रतको सुरुआतसँगै काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगमा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल साँखुस्थित शालिनदीमा व्रतालुहरूको उल्लेख्य घुइँचो लागेको छ। आजैदेखि यहाँ माघ स्नानसहित माधवनारायण मेला पनि सुरु गरिएको छ।

धार्मिक विश्वासअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिमा विभिन्न शक्तिपीठमा पूजा–आराधना गरिन्छ। सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको मान्यताका आधारमा यो परम्परा सुरु भएको मानिन्छ। यस अवधिमा विशेष गरी बिहान सबेरै माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने विधि छ भने बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको स्वस्थानी व्रत कथा सुन्ने–सुनाउने परम्परा रहँदै आएको छ। कुल परम्पराअनुसार कसैले बिहान र कसैले बेलुकी कथावाचन गर्ने चलन छ।

स्वस्थानी व्रतको प्रारम्भ पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर गरिन्छ। एक महिनासम्म नियमपूर्वक व्रत बसेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रत समापन गरिन्छ।

चढाइएका प्रसादमध्ये आठ–आठ अंश पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र कोही नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा प्रवाहित गर्ने विधि रहेको छ। व्रत समापनको अघिल्लो रात सय रोटी फलाहार गरी जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानकी देवी’ भन्ने बुझिन्छ। आफ्नो स्थानको देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो भन्ने मान्यता छ। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समयलाई विशेष महत्व दिइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा आसिन, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। उनका अनुसार देवीका चार हातमध्ये एक हातमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ।

धार्मिक विश्वासअनुसार स्वस्थानीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिको निवारण र इच्छित पति–पत्नी प्राप्त हुने कथाहरू प्रचलित छन्। स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशमा स्वस्थानी व्रत गरेकी थिइन्। व्रतकै प्रभावले बिछोडमा परेका नाग–नागिनीको पुनर्मिलन भएको कथा पनि उल्लेख छ।

साँखुको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक विषयमा अनुसन्धानरत इतिहासकार **प्रकाश श्रेष्ठ ‘सक्व’**का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको व्रतविधि अनुसार स्वस्थानी व्रत गरेपछि पुत्र वियोगबाट मुक्ति पाएको र उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ।

यस अवसरमा साँखुस्थित शालिनदीमा एक महिनासम्म चल्ने माधवनारायण मेला आजदेखि औपचारिक रूपमा सुरु भएको छ। माघ महिनामा यहाँ स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिएर पुण्य प्राप्त हुने विश्वासका कारण हरेक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन्। शालिनदी व्यवस्थापन समितिले यस वर्षको मेलाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

शालिनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शन गर्न नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन आउने गरेका छन्, जसले साँखुको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको छ।

  • Jigyasanepal

थप