काठमाडौं, असोज ६, २०८२ सोमबार
हिन्दू धर्मावलम्बीको महान् पर्व बडादसैँ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व आज घटस्थापनासँगै प्रारम्भ भएको हो।
आज बिहानै घरघरमा विधिपूर्वक कलश स्थापनासहित दुर्गा देवीको आह्वान गरिएको छ। वैदिक परम्परा अनुसार पूजा कोठा वा दसैँ घरमा गोबरले लिपपोत गरी चोखो स्थानमा कलश राखेर जमरा (जौ) रोपिएको छ। यसलाई समृद्धि र विजयको प्रतीक मानिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय आधार छैन। जमरा दुर्गाको प्रिय भएकाले विजयादशमीको दिन देवीको प्रसादसँगै ग्रहण गरिन्छ। आयुर्वेदमा जमरालाई औषधीय दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।
घटस्थापनाको साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको घटस्थापनाको साइत बिहान ९ः१३ बजे थियो। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयसँगै प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने मान्यता छ।
दुर्गा पक्ष र नवरात्र
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ। यस अवधिमा दुर्गाका नवदुर्गा स्वरूपको पूजन गरिन्छ :
पहिलो दिन शैलपुत्री
दोस्रो दिन ब्रह्मचारिणी
तेस्रो दिन चन्द्रघण्टा
चौथो दिन कुष्माण्डा
पाँचौँ दिन स्कन्दमाता
छैठौँ दिन कात्यायनी
सातौँ दिन कालरात्री
आठौँ दिन महागौरी
नवौँ दिन सिद्धिदात्री
यी नौ रूपले असुरी प्रवृत्तिमाथि विजय प्राप्त गरेको विश्वास गरिन्छ ।
दसैँको धार्मिक र सांस्कृतिक महत्त्व
दसैँलाई सत्यले असत्यमाथि, दैवी शक्तिले आसुरी शक्तिमाथि विजयको प्रतीकका रूपमा मनाइन्छ।
दुर्गा पूजामा जात, धर्म वा सम्प्रदायको भेद नभई सम्पूर्ण मानव जातिको रक्षा गर्ने विश्वास राखिन्छ।
नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका ग्रन्थहरूको पाठ पारायण गर्ने परम्परा छ।
देशभरका शक्तिपीठहरू जस्तै गुह्येश्वरी, नाला भगवती, नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवतीलगायतमा आजदेखि भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ।
दशैँका प्रमुख दिनहरू
सातौँ दिन (फूलपाती) – धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ।
महाअष्टमी र महानवमी – बलि पूजा गर्नेहरूको लागि विशेष दिन।
विजयादशमी (असोज १६) – टीका र जमरा ग्रहण गर्ने मुख्य दिन।
यसवर्ष विजयादशमीको दिन टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ। देवी विसर्जनको साइत भने बिहान ९ः२३ बजे तोकिएको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने र लक्ष्मीपूजा गरी जाग्राम बस्ने परम्परा छ।
हनुमानढोकामा विशेष पूजा
परम्परागत रूपमा काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आजै घटस्थापना गरिएको छ। यहाँ महानवमीको दिन ५४ बोका र ५४ राँगासहितको बलि दिने प्रथा छ।
पारिवारिक पुनर्मिलनको पर्व
दसैँलाई धार्मिक मात्र नभई सामाजिक एकताको पर्व मानिन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले टाढा रहेका नेपालीहरू यस अवसरमा घर फर्की परिवारसँग मिलेर पर्व मनाउने गर्छन्। धेरैजसो शैक्षिक संस्था आजदेखि दसैँ बिदामा गएको छ।
यसरी बडादसैँ केवल देवीको पूजा मात्र नभई पारिवारिक मिलन, सामाजिक एकता र सांस्कृतिक गौरवको उत्सवका रूपमा आजदेखि सुरु भएको छ ।
-
Jigyasanepal