काठमाडौं, असोज १ ।
आज आश्विन सङ्क्रान्तिको अवसरमा देशभर विश्वकर्मा पूजा धुमधामसाथ मनाइएको छ। विशेषगरी सवारीसाधन, कलकारखाना र मेशिनरी सामग्रीको पूजा आराधना गरी श्रद्धालुहरूले आ-आफ्नो सुरक्षामूलक र रोजगारीसँग जोडिएका उपकरणमा भगवान् विश्वकर्माको आशीर्वाद मागेका छन्।
राजधानीको भद्रकाली मन्दिर परिसरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजनहरूको ठूलो भीड लागेको थियो। आफ्ना सवारीसाधन सजाएर पूजा गर्ने, कलकारखाना र कार्यस्थलमा विधिपूर्वक पूजा गर्ने परम्परा अनुसार आजका दिन मजदुरदेखि व्यवसायी र सामान्य उपभोक्तासम्म सहभागी भएका छन्।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिको दिन मनाइने यस पर्वमा विश्वकर्मालाई सृष्टिकर्ता, वास्तुकला र प्राविधिक दक्षताको देवताका रूपमा पूजा गरिन्छ। मन्दिरसँगै विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विशेष सजावटसहित पूजा गरिएको छ।
परम्पराअनुसार आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा विसर्जन गरिन्छ। यस अवसरमा कलकारखाना, वर्कसपदेखि घरायसी सवारीसाधनमा समेत पूजा गर्ने चलन छ।
राजधानीसँगै देशका विभिन्न सहर र गाउँमा समेत आजको दिन विश्वकर्मा पूजाले धार्मिक, सांस्कृतिक र श्रमप्रति सम्मानको माहोल सिर्जना गरेको देखिएको छ।
-
Jigyasanepal