काठमाडौं।
ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित निर्माणाधीन एक कोलोनीमा कार्यरत भारतीय सिनियर इन्जिनियरको दर्दनाक हत्या भएको घटनाले उपत्यकामा सनसनी फैलाएको छ। सीजी ग्रुपद्वारा निर्माण भइरहेको उक्त कोलोनीको डिजाइन तथा निर्माणको जिम्मेवारी सम्हाल्दै आएका ४६ वर्षीय देव कुमारको हत्या गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कात्तिक १९ गते निर्माणाधीन कोलोनीको एक भवनको बाथरुमभित्रै देव कुमारको हत्या भएको खुलेको छ। लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा कार्यरत देव कुमारको शव भेटिएपछि जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले संयुक्त रूपमा अनुसन्धान थालेको थियो।
एक महिना बितिसक्दा पनि हत्यारा फरार
हत्या भएको करिब एक महिना बितिसक्दा पनि आरोपी पक्राउ पर्न सकेका छैनन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने हत्याराको पहिचान भइसकेको जानकारी दिएका छन्।
> “घटना एक महिनाअघिको हो। हत्याराको पहिचान भइसकेको छ। हत्यालगत्तै आरोपी भारत भागेको आशंका छ। भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको छ,” एसएसपी बस्नेतले भने।
सर्लाहीका युवकको संलग्नता, काभ्रे हुँदै भारत पलायन
प्रहरीका अनुसार देव कुमारको हत्यामा कोलोनीमै काम गर्ने सर्लाहीबाट ललितपुर आएका एक युवकको संलग्नता देखिएको छ। हत्या लगत्तै उनी फरार भई काभ्रे पुगेको र त्यहाँबाट फर्किएर कलंकी हुँदै विराटनगर नाकाबाट भारत प्रवेश गरेको तथ्य अनुसन्धानबाट खुलेको छ।
हातखुट्टा बाँधेर धारिलो हतियारले प्रहार
अनुसन्धानका क्रममा देव कुमारको हात, खुट्टा र मुख गलबन्दीले बाँधेर टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार घटनामा एक जनाभन्दा बढी व्यक्तिको संलग्नता देखिएको छ।
> “हत्या दुई–तीन जनाले मिलेर गरेको जस्तो देखिन्छ। एक जनाको पहिचान भइसकेको छ। पक्राउ परेपछि वास्तविक कारण खुल्नेछ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
आरोपीको श्रीमती र मृतकबीच मोबाइल सम्पर्क
प्रहरी अनुसन्धानले हाल फरार आरोपीकी श्रीमती र मृतक इन्जिनियरबीच मोबाइल सम्पर्क हुने गरेको तथ्य पनि उजागर गरेको छ। यद्यपि, हत्याको ठोस कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले आर्थिक कारणभन्दा व्यक्तिगत रिसइबी वा अन्य कारणले हत्या भएको हुनसक्ने आशंका गरेको छ।
परिवारसहित हात्तीवनमा बस्दै आएका थिए मृतक
देव कुमार लामो समयदेखि परिवारसहित ललितपुरको हात्तीवन क्षेत्रमा बस्दै आएका थिए। उनी सीजी ग्रुपका विभिन्न भवनहरूको डिजाइनमा संलग्न रहँदै आएका थिए। अनुसन्धानमा आरोपीलाई कामका लागि मृतक इन्जिनियरले नै ललितपुर ल्याएको तथ्यसमेत खुलेको छ।
प्रहरीले फरार आरोपीको खोजी तीव्र बनाउँदै भारतका विभिन्न निकायसँग समन्वय गरिरहेको जनाएको छ।
-
Jigyasanepal