काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आइतबारको तुलनामा सोमबार करिब २ डिग्री सेल्सियसले वृद्धि भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस रेकर्ड गरिएको हो।
आइतबार यही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको थियो भने बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा ५.५ डिग्री कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे पुनः मापन गरिने मौसम महाशाखाले जनाएको छ। प्रारम्भिक मापनको तुलनामा सो समयमा तापक्रम केही घट्न सक्ने सम्भावना रहने मौसमविद्हरू बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अन्य धेरै स्थानमा पनि आइतबारको तुलनामा न्यूनतम तापक्रम केही बढेको छ। यसको मुख्य कारण राति आकाशमा बादल लागेको हो। मौसमविद्हरूका अनुसार राति आकाशमा बादल लाग्दा तापक्रम बाहिर ननिस्कने भएकाले बिहान न्यूनतम तापक्रम केही बढ्ने गर्दछ। तर, राति आकाश सफा रहेमा तापक्रम तीव्र रूपमा घट्ने गर्दछ।
महाशाखाले काठमाडौँसहित देशभरका विभिन्न स्थानमा दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। दिनभरिमा सबैभन्दा बढी पुगेको तापक्रमलाई सो दिनको अधिकतम तापक्रम मानिन्छ।
बढ्दो जाडोका बीच पछिल्ला दिनहरूमा देखिएको तापक्रमको यस्तो उतारचढावले जनजीवनमा समेत प्रभाव पारिरहेको छ। मौसम महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
-
Jigyasanepal