Breaking News
प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, आज नयाँ दिल्ली प्रस्थान गर्ने    ||     सुदूरपश्चिमको ऐतिहासिक छलाङ : लुम्बिनीलाई १० विकेटले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन    ||     एनपीएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले उचाल्ला ट्रफी ?    ||     आज देशभरको मौसम मुख्यतया सफा रहने, वर्षा र हिमपातको सम्भावना न्यून    ||     तुलसी–दामोदरको विवाह गराउँदै आज देशभर हरिबोधिनी एकादशी मनाइँदै    ||     ‘अक्वान’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र तुवाँलो    ||     पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा तुवाँलो र बिहान हुस्सु लाग्ने    ||     उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न    ||     कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

  •   २ हप्ता अघि | २४ कार्तिक २०८३, मङ्लबार

काठमाडौं । नेपालको मौलिक संवत्का रूपमा परिचित नेपाल संवत् ११४७ आज मंगलबारदेखि सुरु भएको छ। नयाँ वर्षको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। यसै अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गरिरहेका छन्।

नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षका रूपमा विशेष महत्त्वका साथ मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ। सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सुरु गरिएको यो संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको इतिहासमा उल्लेख छ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। लिच्छविकालअघि नेपालमा शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ। नेपालको नामबाटै नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै विभिन्न अभियान सञ्चालन हुँदै आएका थिए।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे तथा दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष उत्साहका साथ मनाउने गरिन्छ। नयाँ वर्षका अवसरमा विभिन्न सांस्कृतिक झाँकी, र्‍याली, बाजागाजा तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गरिन्छन्।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै नेपालको मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

त्यस्तै, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

काठमाडौंमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परासमेत रहँदै आएको छ।

म्हः अर्थात् आत्म पूजा

नेपाल संवत्को नयाँ वर्षका अवसरमा नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा गर्ने परम्परा पनि रहेको छ। आफ्नो शरीर र आत्मालाई सम्मान गर्दै गरिने यस पूजालाई नेवार समुदायको विशिष्ट सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा लिइन्छ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा बसेको हो। आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवतासमेत प्रसन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनले बताएका छन्।

म्हः पूजाका क्रममा परिवारका सदस्यहरूलाई छुट्टाछुट्टै मण्डप बनाएर पूजा गर्ने, फूल, अक्षता, फलफूल तथा विभिन्न सामग्री अर्पण गर्ने र सगुन दिने चलन छ। यसले व्यक्तिको आत्मसम्मान, स्वास्थ्य, सुख, शान्ति र दीर्घायुको कामना गर्ने सांस्कृतिक महत्त्व बोकेको छ।

प्रतिपदा तिथिका कारण दुई दिन फरक–फरक रूपमा मनाइँदै

यस वर्ष प्रतिपदा तिथि दुई दिन परेका कारण नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ।

केही स्थानमा सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज मंगलबार म्हः पूजा गरिरहेका छन्। तिथिको घटबढका कारण पर्व मनाउने दिनमा यस्तो भिन्नता देखिएको हो।

नेपाल संवत् केवल नयाँ वर्षको सुरुवात मात्र नभई नेपालको मौलिक इतिहास, संस्कृति, पहिचान र सामाजिक सेवाको भावनासँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो।

  • Jigyasanepal

थप