काठमाडौं । तिहारको महत्वपूर्ण पर्व भाइटीकाका दिन आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली क्षेत्र, पहाडी भू–भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै, राति तथा बिहानपख तराईका भू–भाग, उपत्यका र खोँचहरूका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भाइटीकाको दिन आफन्त तथा परिवारजनसँग भेटघाट र आवतजावत गर्नेहरूलाई सम्भावित वर्षा, चट्याङ तथा हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
-
Jigyasanepal