धुलिखेल, माघ १२ – काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिहीबार राति आगलागी हुँदा ७० वर्षीया टिकादेवी दंगालको जलेर मृत्यु भएको छ भने ७३ वर्षीय तोयानाथ दंगाल घाइते भएका छन्। आगलागीले लाखौं रुपैयाँको क्षति पुर्याएको छ।
विद्युत सर्ट सर्किटका कारण राति करिब ९ बजे आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षक बसुन्धरा खड्काको नेतृत्वमा ४० जनाको टोली, नेपाली सेना, शसस्त्र प्रहरी, पाँच वटा दमकल, र स्थानीयवासीको प्रयासबाट आगो राति १ः४५ बजे नियन्त्रणमा आएको थियो।

मृतक र घाइतेको अवस्था
टिकादेवी दंगालको घटनास्थलमै मृत्यु भएको छ। घाइते भएका तोयानाथ दंगाललाई धुलिखेल अस्पतालमा उपचार गराइँदै छ। दंगाल दम्पती काठमाडौं, शंखरापुर नगरपालिका–१ नाङ्लाभारेका स्थायी बासिन्दा हुन्।

आगलागीबाट भएको क्षति
आगलागीका कारण फर्निचर उद्योगमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। त्यसैगरी, फर्निचर नजिकै रहेको कृष्णबहादुर विकको सात लाख रुपैयाँ बराबरको कच्ची घर र ध्रुवबहादुर विकको तीन लाख रुपैयाँ बराबरको टहरोमा समेत क्षति पुगेको छ।


राहत र सहयोग
आगलागी प्रभावित परिवारलाई शनिबार बिहान नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देलको नेतृत्वमा राहत सामग्री वितरण गरिएको छ। टोलीमा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाईं, वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईं, र अन्य स्थानीय प्रतिनिधिहरू सहभागी थिए। रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमन्त्री प्रदीप केसीले पीडितहरू श्यामप्रसाद दाहाल, तोयानाथ दंगाल, कृष्णबहादुर विक, ध्रुव विक, र सरु दियाली विकलाई राहत सामग्री हस्तान्तरण गरिएको बताएका छन् ।
स्थानिय र सुरक्षाकर्मीको भूमिका
स्थानीयवासीले बाल्टिन र अन्य सामग्रीको प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। सुरक्षाकर्मी र स्थानीयको सक्रियताले थप ठूलो क्षति हुनबाट रोकिएको छ।
आगलागीको विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media