काठमाडौं, चैत १३ – काठमाडौंको कालंकीस्थित खड्का गाउँमा सोमबार साँझ भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१४, खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच झडप हुँदा २३ वर्षीय अभय (अबे) तामाङको धारिलो हतियार तथा फलामे रड प्रहारबाट मृत्यु भएको थियो। दोलखाको मेलुङ गाउँपालिका–४ स्थायी घर भई हाल चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका तामाङलाई पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई काठमाडौंको नागार्जुन–१०, स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठलगायतका व्यक्तिहरूले आक्रमण गरेका थिए।
घटनापछि अनुसन्धान अघि बढाउँदै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। पक्राउ परेकाहरूलाई मंगलबार सार्वजनिक गर्दै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं, धादिङ, सिन्धुली, सर्लाही, उदयपुर, गोरखा, नवलपरासी, तनहुँ र सुनसरीका युवा रहेका छन्। प्रहरीले उनीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।
अहिलेसम्मको अनुसन्धान अनुसार झडप आपसी विवादबाट भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media